२०८२ पुष ४

कमजोर नेपाली रुपियाँ

वर्ष २०२५ को अन्त्यतिर नेपाली रुपियाँ अमेरिकी डलरको तुलनामा कमजोर बन्दै गएको अवस्था छ । आज नेपाली रुपियाँको बिक्री विनिमय दर एक अमेरिकी डलर बराबर १४४.९० नेपाली रुपियाँ रहेको छ । यो अहिलेसम्मको उच्चतम विनिमय दर हो । वर्षको अन्तिमसम्म एक अमेरिकी डलर बराबर १५० नेपाली रुपियाँ पुग्यो भने अचम्म नमाने हुन्छ । नेपालमा राजनीतिको अवमूल्यनसँगै नेपाली रुपियाँको पनि अवमूल्यन भइरहेको देखिन्छ । डलरको तुलनामा नेपाली रुपियाँ कमजोर हुँदै गर्दा नेपाली अर्थतन्त्रमा धेरै नकारात्मक असर पर्न जान्छ । नेपाल अधिकतम आयातमा आश्रित मुलुक हो कमजोर नेपाली रुपियाँले आयात महँगो बनाउँछ । विदेशमा पढ्ने विद्यार्थीको शुल्कमा वृद्धि हुन्छ, औषधी महँगो हुन्छ र स्वास्थ्यसँग सम्बन्धित सबै क्षेत्रहरूमा महँगी बढ्छ । मेरो छिमेकी काठमाडौँको ग्राण्डी अस्पतालमा डाक्टरहरूको न्युनतम जाँचशुल्क ८२५ रुपियाँ थियो अहिले बढेर १,००० रुपियाँ पुगेको छ । अर्थो र न्यारोमा त १,३०० जाँचशुल्क तिर्नुपर्छ । अहिलेको अवस्थामा कमजोर रुपियाँका कारण पेट्रोलियम पदार्थको महँगीले यातायात भाडा दरमा १५–२० प्रतिशत वृद्धि हुने देखिन्छ, खाद्यान्न महँगो हुन्छ, दैनिक उपभोग्य वस्तु महँगिन्छन् । नेपाल राष्ट्र बैंकले आफ्ना नोटमा नेपाली शब्दकोश अनुसारको रुपियाँ, अहिलेको नोटको रुपैयाँ वा भारतीय अनुकरण रूपैयाँ के लेख्ने एक रूपता ल्याउनु राम्रो हुनेछ ।
हाम्रा दुई छिमेकी उत्तरमा चिनियाँ करेन्सी युआनसँग नेपाली रुपियाँको आजको विनिमय दर एक चिनियाँ युआन बराबर २०.५३ नेपाली रुपियाँ रहेको छ दक्षिण छिमेकी भारतसँग हाम्रो रुपियाँको स्थिर विनिमय दर एक भारती रूपैयाँ बराबर १.६० नेपाली रुपियाँ छ । भारतमा भारतीय रूपैयाँको अमेरिकी डलरसँगको विनिमय दरमा आएको गिरावटले त्यहाँ हाहाकार मच्चिएको छ । अर्थमन्त्री निर्मला सीतारमणले भारतीय रूपैयाँ कमजोर भएको होइन डलर बलियो भएको वक्तव्य दिएपछि उनी सामाजिक सञ्जालमा ट्रोल भइरहेकी छिन्, अर्थशास्त्रीहरू अचम्मा परेका छन् । डलरसँगको यो गिरावटलाई रोक्न भारतसँग कच्चा कपास छ जुन बंगलादेश निर्यात गरेर केही डलर कमाइ हुन्छ । बंगलादेशले त्यही कपासलाई प्रयोग गरेर अन्तराष्ट्रिय ब्राण्ड जारा र एच एन्ड एम जस्ता गार्मेन्ट तयार गर्छ । नेपालसँग यो भार खेप्न रेमिटेन्स बाहेक केही छैन । रेमिटेन्सले कहिलेसम्म हाम्रो अर्थतन्त्र धान्ने कति पुस्ता ? कुनै पनि देशको करेन्सीमा आएको कमजोरीले त्यो देशमा हरेक क्षेत्रमा लागत बढ्छ, बचत घट्छ र लगानीकर्ता लगानी गर्न इच्छुक हुँदैनन् ।
भोलिदेखि नेकपा (एमाले) एघारौँ महाधिवेशनमा व्यस्त छ । नेपाली कांग्रेस नियमित वा विशेष महाधिवेशनको विशेषणको अलमलमा परेको देखिन्छ । नेपाली कम्युनिस्ट पार्टी सन्देशसभामा दिउँसै तारा गन्दै छ । रास्वपा धरौटीमा आफ्नो अध्यक्षको रिहाइका लागि अदालतको ढोकामा घन्टी हल्लाउँदै छ । राप्रपा गणतन्त्र नेपालमा राजा खोजिरहेको छ । नेकपा (माओवादी) आलु उखेल्दै छ । प्रलोपाको आँखालाई कमलपित्त लागेको छ । जसपा गौर घटनाको अनावरणले मुर्छा परेको छ । जेनजी राजनीतिको जाममा जकडिएको छ । निर्वाचन आयोगमा दर्ताभएका १४३ दल आगामी फागुन २१ गते निर्वाचन हुनेकुरामा निश्चिन्त छैनन । सरकार बारीमा राखेको बुख्याँचा जस्तो भएको छ देशको दुर्दसामा ऊ केही गर्न सक्तैन किनभने नामका लागि सरकार छ । जनताको कर खाने सरकार, जनता लुटेर खाने पार्टीहरूलाई देशको अर्थतन्त्र र विशेषगरी नेपाली रुपियाँको अहिलेको अवस्थाबारे चिन्तन गर्ने कुनै सरोकार देखिन्न । अर्थशास्त्री, नागरिक समाज, मिडिया यसबारे किन बोल्दैनन् ? कमजोर नेपाली रुपियाँको कारण खाली हुँदै गएको नेपाली जनताको खल्तीले वेग्लै कथा भनिरहेको छ त्यो बेलैमा बुझौँ । नेपाली रुपियाँ यो कमजोर अवस्थामा पुर्याउने गुनाहगार को हो जसले नेपालमा पञ्चायतका नाममा, बहुदलका नाममा, गणतनत्रका नाममा देश कमजोर पारे तीनको पहिचान गरी दण्डित गरौँ ।

प्रतिक्रिया दिनुहोस्