मेलम्ची नगरपालिका–१३ को नेपालथोक सामुदायिक वन नर्सरी केन्द्र र नगरपालिका–१२ को आँपघारी सामुदायिक वन नर्सरी केन्द्र आज एक कार्यक्रममार्फत सम्बन्धित वडा कार्यालयलाई हस्तान्तरण गरिएको छ ।
नगरपालिकाको कृषि विकास शाखाको प्राविधिक सहयोग, सब–डिभिजन वन कार्यालय मेलम्चीको समन्वय तथा करुणा ट्रस्ट र रिड नेपालको आर्थिक–प्राविधिक सहयोगमा निर्माण भएका दुवै नर्सरी केन्द्र आजदेखि स्थानीय तहको जिम्मामा पुगेका हुन् ।
हस्तान्तरण कार्यक्रममा रिड नेपालकी परियोजना संयोजक शोभा सुवेदीले नर्सरीहरूमा अम्बा, तेजपात, मसला जातका बिरुवा, सुन्तला, धुपी, बुद्धचित्त, पारिजातसहित दर्जनौँ प्रजातिका विरुवा उत्पादन भएको जानकारी दिनुभयो । उहाँका अनुसार नर्सरी सञ्चालनले स्थानीय प्रजातिको संरक्षण, विस्तार र आर्थिक सम्भावनासमेत वृद्धि गर्नेछ ।

कार्यक्रममा मेलम्ची नगरपालिकाकी उप–प्रमुख उमा प्रधान, वडा नं. १३ का अध्यक्ष श्रीराम घोरसैनी, कृषि विकास शाखा प्रमुख अमरनाथ आचार्यसहित जनप्रतिनिधि तथा कर्मचारीले नर्सरी टनेलको अनुगमन तथा निरिक्षण गर्नुभएको थियो ।
संस्थाले हस्तान्तरण गरेको नर्सरी अब सामुदायिक वन उपभोक्ता समितिहरूले व्यवस्थापन र संरक्षण गर्नेछन् । स्थानीय स्तरीय नर्सरी सञ्चालनबाट फलफूल तथा स्थानीय बनस्पतिको उत्पादन बढ्दै जाने र वातावरणीय संरक्षणमा ठोस योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्