२०८२ मंसिर ११

चौतारामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत वृद्धाश्रममा रासन हस्तान्तरण

सिन्धुपाल्चोक । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको दोस्रो दिन चौतारा साँगाचोकगढी नगरपालिका र मिलिजुली महिला बचत तथा ऋण सहकारी संस्थाले संयुक्त रूपमा स्थानीय वृद्धाश्रममा रासन सामग्री हस्तान्तरण गरेका छन् ।

अभियानको क्रममा नगर उपप्रमुख सीता थापा स्वयं उपस्थित भएर वृद्ध नागरिकसँग भेटघाट गर्दै आवश्यक सामग्री हस्तान्तरण गरिएको थियो । वृद्धाश्रममा बसोबास गर्ने ज्येष्ठ नागरिकले दैनिक जीवनमा झेल्नुपर्ने आवश्यकता र समस्याबारे बुझ्दै उनले सहजीकरणका लागि नगरपालिका निरन्तर साथमा रहने बताइन् ।

नगर उपप्रमुख थापाले भनिन्, “१६ दिने अभियान केवल औपचारिक कार्यक्रम होइन, यो समाजमा सम्मान, सुरक्षा र संवेदनशीलता जगाउने प्रयास हो । कमजोर र असहाय समुदायप्रति कर्तव्य पुरा गर्नु स्थानीय सरकारको जिम्मेवारी हो, त्यसैले हामी निरन्तर सेवा र सहयोगका कार्यक्रम लिएर समुदायमा उत्रिनेछौँ ।”

प्रतिक्रिया दिनुहोस्