२०८२ कार्तिक २६

२५ बुँदे सहमति पत्रमा हस्ताक्षर, मेलम्चीको पानी पुनः काठमाडौं लगिने

सिन्धुपाल्चोक – मेलम्ची खानेपानी आयोजनासम्बन्धी समस्या समाधान हुने गरी २५ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ । यस सहमतिपछि अब मेलम्चीको पानी काठमाडौं पठाउने बाटो खुलेको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सम्पन्न सहमतिअनुसार प्रभावित क्षेत्रका पालिका, स्थानीय समिति तथा बाढीपीडितका माग सम्बोधन गर्दै मेलम्ची आयोजनाको पानी पुनः काठमाडौं पठाउने तयारी अघि बढाइएको हो ।

सहमतिअनुसार, अर्थ मन्त्रालयबाट पुंजीगत रकम निकासा हुन नसकेको विषय समाधानका लागि मेलम्ची खानेपानी विकास समितिको निर्णयबमोजिम मस्यौदा तयार गरी संशोधनका लागि पेश गरिनेछ । त्यस्तै, सिन्धुपाल्चोक जिल्लाको प्रशासन कार्यालयमार्फत सत्य तथ्य संकलन र राहत प्रक्रियाका लागि गृह मन्त्रालयमा अनुरोध गरिने पनि सहमति भएको छ ।

प्रभावित पक्षका तीन प्रतिनिधिसहित तीन महिनाभित्र अध्ययन सम्पन्न गरिने, बाढीबाट प्रभावित जनधन, व्यवसाय र कृषि क्षति मूल्यांकन गरी बक्यौता रकम ४५ दिनभित्र निकासा गरिने, तथा खानेपानी वितरणमा भएको अवरोध हटाई स्थायी समाधानका लागि राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगसँग समन्वय गरी मन्त्रिपरिषद् समक्ष प्रस्ताव पेश गरिने सहमति भएको छ ।

२५ बुँदे सहमति पत्रमा सम्बन्धित मन्त्रालयका सचिव, स्थानीय सरोकारवाला प्रतिनिधि तथा मेलम्ची खानेपानी विकास समितिका प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन् । सहमतिमा मन्त्री कुलमान घिसिङ पनि उपस्थित रहेका थिए ।

 

रेडियो मिसनबाट

प्रतिक्रिया दिनुहोस्