२०८२ कार्तिक १८

बहुरूपी समाजवाद

विराटनगर महेन्द्र मोरङ आदर्श क्याम्पसमा २०३५–३६ तिर हामी बीए (स्नातक) पढ्दा अर्थशास्त्रमा एउटा कोर्स पुँजीवादी, समाजवादी र मिश्रित अर्थव्यवस्था पढ्नु पर्थ्यो । समाजवाद पढाउँदा कक्षामा एउटा न्यारेटिभ चलेको थियो समाजवाद एउटा यस्तो रबरको टोपी हो जसको टाउकोमा पनि ठिक हुन्छ । अहिले त्यही न्यारेटिभ अलि परिस्कृत रूपमा चलेको छ । समाजवाद एउटा यस्तो जामा (पहिरन) हो सबैलाई फिट हुन्छ (वन साइज फिट्स अल) । समाजवादका बहुरूपी व्याख्या हुँदै आएको छ । लेनिन, ट्राटस्की र बाकुनिनले समाजवादबारे लामो बहस गरेका थिए कुन समाजवाद सही र कुन नक्कली भनेर । एडवार्ड बर्न्सटाइनले १८९९ मा समाजवादमा संशोधनवाद घुसाए । स्पानिस कम्युनिस्ट पार्टीका प्रवक्ता सान्टियागोे कारिल्लोले बर्न्सटाइनको संशोधनवादलाई निकै सिंचाई गरे । पालमिरो तोग्लियाटीले १९५६ मा सबै देशका समाजवाद फरक हुन सक्छन् भनेर बर्न्सटाइनको विचारलाई अझ बढाए । मुसोलिनीको फासिस्ट शासनकाल १९२२–१९४५ सम्म मुसोलिनी समाजवाद सही भनेर इटलीका स्कुलकलेजमा पाठ पढाइन्थ्यो । नेपालको संविधान २०७२ को भाग १ प्रारम्भिक धारा ४ मा नेपाल राज्यः (१) नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो (पृष्ठ २) लेखिएको छ यही कुरालाई नेपालका संसदीय पार्टीका नेताहरू बारम्बार रटान लगाइ रहन्छन् । वास्तविकता त के हो भने संविधान बनाउनेहरूलाई समाजवाद के हो स्पष्ट नै छैन । समाजवाद त भारत र श्रीलंकाका संविधानमा पनि उल्लेख गरिएको छ तर त्यसको प्रयोग कत्तै पाइदैन । नेपालको संविधान निर्माणको दसवर्ष नपुग्दै कति समस्या आएका छन् नेपाली जनताले प्रत्यक्षीकरण गरेकै विषय हो ।
आजसम्म मैले पढेका सुनेका समाजवादबारे यति भ्रम छन् निष्कर्ष निकाल्न गाह्रो छ । बहुरूपी समाजवादका केही उदाहरण हेरौं । वैज्ञानिक समाजवाद, साम्यवादी समाजवाद, वामपन्थी समाजवाद, प्रजातान्त्रिक समाजवाद, पुँजीवादी समाजवाद, जनतान्त्रिक समाजवाद, जनवादी समाजवाद, लोकतान्त्रिक समाजवाद, गणतान्त्रिक समाजवाद, क्रान्तिकारी समाजवाद, कम्युनिस्ट समाजवाद, काल्पनिक समाजवाद, कल्याणकारी समाजवाद, विकासवादी समाजवाद, विकसित समाजवाद, मार्क्सवादी समाजवाद, एँगेल्सवादी समाजवाद, लेनिनवादी समाजवाद, स्तालिनवादी समाजवाद, माओवादी समाजवाद, फिडेलवादी समाजवाद, चेगुवारा समाजवाद, हो ची मिन्ह समाजवाद, चर्चिल समाजवाद, किम इल सुङ समाजवाद, गान्धी समाजवाद, नेहरु समाजवाद, लोहिया समाजवाद, जेपी समाजवाद, बीपी समाजवाद, चाभेजियन समाजवाद, मुसोलिनी समाजवाद, इकवाल समाजवाद, टोल्सटोय समाजवाद, स्मिथिएन समाजवाद, रिकार्डियन समाजवाद, माल्थसियन समाजवाद, रुसी समाजवाद, चिनियाँ समाजवाद, चिनियाँ विशेषताको समाजवाद, जर्मन समाजवाद, फ्रेन्च समाजवाद, अमेरिकन समाजवाद, इटालियन समाजवाद, अरब समाजवाद, अफ्रिकन समाजवाद, ब्रिटिश समाजवाद, नेपाली समाजवाद, नेपाली विशेषताको समाजवाद, युरोपेली समाजवाद, नोर्दिक समाजवाद, इन्डो समाजवाद, शिकागो समाजवाद, क्रिसियन समाजवाद, इस्लामिक समाजवाद, सिख समाजवाद, नाजी समाजवाद, कांग्रेस समाजवाद, फेबियन समाजवाद, शास्त्रीय समाजवाद, मध्यकालीन समाजवाद, आधुनिक समाजवाद, राष्ट्रिय समाजवाद, स्वायत्त समाजवाद, संसदीय समाजवाद, संघीय समाजवाद, संवैधानिक समाजवाद, संशोधनवादी समाजवाद, समावेशी समाजवाद, समुन्नत समाजवाद, समकालीन समाजवाद, सामुदायिक समाजवाद, एकीकृत समाजवाद, सन्तुलित समाजवाद, तेस्रो विश्व समाजवाद, जनता समाजवाद, सच्चा समाजवाद, सुधारवादी समाजवाद, सहभागितामूलक समाजवाद, सहकारी समाजवाद, घरेलु समाजवाद, बजार समाजवाद, औधोगिक समाजवाद, आपूर्ति समाजवाद, ग्रामीण समाजवाद, हरित समाजवाद, नयाँ समाजवाद, वास्तविक समाजवाद, रम समाजवाद, स्यामपेन समाजवाद, कोकाकोला समाजवाद, धार्मिक समाजवाद, अधार्मिक समाजवाद, टर्बो समाजवाद, विद्यार्थी समाजवाद, अखिल समाजवाद, माइक्रो समाजवाद, म्याक्रो समाजवाद, भल्गर समाजवाद, सायारेम समाजवाद, र्याडिकल समाजवाद, बार्दली समाजवाद, टिभि समाजवाद, पोस्टर समाजवाद, रोमान्टिक समाजवाद, दक्षिणपन्थी समाजवाद, दलाल समाजवाद, दलित समाजवाद, अराजकतावादी समाजवाद, आध्यात्मिक समाजवाद, नैतिक समाजवाद, नारीवादी समाजवाद, नक्कली समाजवाद, जंगली समाजवाद, जातीय समाजवाद, प्रयोगात्मक समाजवाद, पर्यावरणीय समाजवाद, डिजिटल समाजवाद, गिल्ड समाजवाद, युद्ध समाजवाद, इन्दे्रणी समाजवाद, इको समाजवाद, उदार समाजवाद, उपभोक्ता समाजवाद, उपयोगितावादी समाजवाद, एकीकृत समाजवाद, क्रोनी समाजवाद, कृषि समाजवाद, एक्काइसौं शताब्दीको समाजवाद आदि ।
सन १९४२ मा २५ प्रतिशत अमेरिकी समाजवादलाई राम्रो मान्थे भने अहिले ४३ प्रतिशत अमेरिकी समाजवाद प्रति सकारात्मक रहेको देखिएको छ । यही अवधिमा ३४ प्रतिशत अमेरिकी समाजवादबारे थाहा छैन भन्थे भने अहिले त्यो प्रतिशत ६ मा झरेको छ । वर्तमान समयमा १० अमेरिकीमा ४ जना समाजवाद प्रति सकारात्मक छन् । सन २०१६ को अमेरिकी राष्ट्रपतिको चुनावमा प्रत्याशी बनेका बर्नी स्यान्डर्सले प्रजातान्त्रिक समाजवादको अभियान चलाएका थिए । स्यान्डर्सको चुनावी अभियानमा अमेरिकाका ५० हजार समाजवादी युवा जोडिएका थिए । अमेरिकामा सन २०२१ मा ६१ प्रतिशत मानिसहरू पुँजीवाद मन पराउँथे भने २०२५ मा त्यो झरेर ५४ प्रतिशतमा आएको छ । विश्वमा वितेका ५० वर्षमा मानिसहरूको समाजवादबारे अवधारणा सन १९४९ मा समाजवाद मन पराउनेहरूको संख्या १४ बाट बढेर २०१९ सम्ममा २९ प्रतिशत पुग्यो । सन २०१५ मा मेरियन वेबस्टर अनलाइन शब्दकोशमा समाजवाद सबैभन्दा बढी खोजिएको शब्द थियो । न्युयोर्क टाइम्सका अनुसार राष्ट्रपति क्लिनटनलाई जिताउनेमा भोटको ५६ प्रतिशत मतदाता समाजवाद समर्थक रहेका थिए । सन १८८४ मार्क्सको मृत्युभएको एकवर्षपछि बेलायती उदारवादी नेता सर विलियम हारकोर्टले भनेका थिए आजको विश्वमा हामी सबै समाजवादी भएका छौं । आर्थिक मन्दी २००७–८ पछि न्युजविक म्यागजिनमा जोन मेकाम र इभान थोमसले फेब्रुअरी १६, २००९ मा अब हामी सबै समाजवादी भएका छौं लेख लेखेका थिए जुन न्युजवीकको आवरण आलेख बनेको थियो ।
हिजो २०८२।०७।१६ नेपालका आठ पार्टीः नेकपा (चिरन पुन समूह), नेकपा (समाजवादी), जनसमाजवादी पार्टी नेपाल, नेपाल समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र), नेकपा (माओवादी समाजवादी) र नेकपा (साम्यवादी) पार्टीहरूको एकीकरण भएको छ । पार्टी एकता सहमतिपत्रमा पार्टीको नाम राखिएको छैन तर चुनाव चिन्ह पाँचकुने तारा हुनेछ भनिएको छ । पार्टीको मार्गनिर्देशक सिद्धान्त मार्क्सवाद–लेनिनवाद हुनेछ भनिएको छ । आज यो समूहमा माओवादी कम्युनिस्ट (गोपाल किराँती समूह) पनि समावेश भएको छ । नेकपा (माओवादी केन्द्र) ले माओवाद परित्याग गरेर एमालेको जस्तै मार्क्सवाद–लेनिनवाद मार्गनिर्देशक सिद्धान्त अङ्गीकार गरेको छ । नेकपा (माओवादी) जनयुद्ध लिगेसीको जिम्मा वैद्य, विप्लव र बास्तोलाहरूमा आएको छ । जेनजी आन्दोलनको असरले मक्काएका नेपालका संसदीय राजनीतिक पार्टीहरू पुनःसंरचनाको पीडामा परेर उठ्ने प्रयासको असफल प्रयोग गरिरहेका छन् । नेपालमा आठ प्लस दल गठबन्धनको सम्भावित नाम नेकपा समाजवादी नेपाली जनतालाई भ्रमित पार्न बहुरूपी समाजवादको संरचना बन्ने त होइन भन्ने नेपाली जनतालाई शंका छ ।

प्रतिक्रिया दिनुहोस्