२०८२ कार्तिक २

“खेलमार्फत एकता र अनुशासनको सन्देश” — तेस्रो ठूलोसिरुवारी खेलकुद महोत्सव आजबाट सुरू

ठूलोसिरूवारी — चौतारा साँगाचोकगढी नगरपालिका–१३, ठूलोसिरुवारीमा आजदेखि तेस्रो ठूलोसिरुवारी खेलकुद महोत्सव तथा नगर मा.वि स्तरीय जुनियर कराते प्रतियोगिता–२०८२ भव्य रूपमा उद्घाटन भई सुरू भएको छ ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य युवराज दुलालले पानसमा दीप प्रज्वलन गरी र विशेष अतिथि जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रामकृष्ण दंगालले खेलकुद सामग्री हस्तान्तरण गरी गरेका थिए ।

उद्घाटन समारोहमा प्रदेश सभा सदस्य युवराज दुलालले वर्तमान राजनीतिक अवस्थको बारेमा बोल्दै यस्ता खेलकुद प्रतियोगिताले युवाहरूमा अनुशासन, आत्मबल र राष्ट्रप्रेमको भावना जागृत गराउने तथा विद्यार्थीहरू भित्रको प्रतिभा प्रस्फुटन गर्ने मञ्च प्रदान गरेको बताए । उनले भने, “यस्ता खेलकुद कार्यक्रम आयोजना गर्दा स्थानिय रूपमा लुकेर बसेका सबै विद्यार्थी र बालबालिकाहरूले आफ्नो प्रतिभाहरू प्रस्फुटन गर्न पाउने अवसर सृजना भएको छ र यस्ता प्रतिभाहरू वडा, नगर र जिल्ला हुदै राष्ट्रिय स्तर सम्म प्रतिस्पर्धा गर्न सक्षम हुने छन् । त्यसैले खेल क्षेत्र र खेलाडी विकासको जग वा आधार भनेको यस्तो खेल प्रतियोगिताहरू नै हुन र यसको विकास र व्यवस्थापन हाम्रो जिम्मेवारी ।”

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रामकृष्ण दंगालले सहभागी सबै विद्यार्थीहरूलाई शुभकामना दिदै जिल्ला भरिका एक सय तीनवटा वडाहरूमा खेलकुदका सबै विधाहरूलाई समेटेर यस किसिमको महोत्सवको रूपमा विकास गरेको ठूलोसिरूवारी पहिलो वडा रहेको बताए । उनले यस किसिमको प्रतियोगिता सञ्चालन गर्द राष्ट्रपति रनिङ सिल्डमा समेत यस वडाको खेल प्रस्तुतिमा सुधार आएको र खेलाडीहरूको अनुशासन कायममा समेत सहयोग पुगेको उल्लेख गरे ।

कार्यक्रमका सभाध्यक्ष तथा वडा नं. १३ का अध्यक्ष रामप्रसाद गौतमले वडा भित्रको सामाजिक सद्भाव, युवाको एकता र खेल प्रतिभा निखार्न महोत्सवले ठूलो योगदान पुर्‍याउने बताए । उनले आगामी वर्षहरूमा अझै व्यापक र व्यवस्थित रूपमा महोत्सव आयोजना गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

महोत्सवमा फुटबल, भलिबल, सटफुट, कराते, दौड, र ज्याब्लिन थ्रो जस्ता विभिन्न खेलहरूमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता आज कार्तिक २ गते बाट सुरू भई भोलि कार्तिक ३ गते समापन गरिने छ । उद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधि, विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक र खेलकुदप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

ठूलोसिरुवारी खेलकुद महोत्सवले स्थानीय युवाहरूमा खेलप्रतिको उत्साह र प्रतिबद्धता बढाउने मात्र होइन, गाउँस्तरमै प्रतिभा पहिचान गर्ने माध्यमको रूपमा पनि योगदान पुर्‍याएको छ । यस्ता प्रतियोगिताले विद्यालयस्तरदेखि नै खेलकुद संस्कृति विकास गर्न, स्वास्थ्यप्रति सचेतता बढाउन र सामाजिक एकता बलियो बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्