२०८२ आश्विन १९

वैदेशिक रोजगारीले नेपाली चाडमा ल्याएको शून्यता

नेपालमा बेरोजगारी, आर्थिक अभाव र अवसरको कमीले गर्दा वैदेशिक रोजगारी जीवन निर्वाहको प्रमुख विकल्प बनेको छ । धेरै वर्षदेखि नेपाली पुरुष तथा महिलाहरू रोजगारीको खोजीमा विदेशी भूमितर्फ लागिरहेका छन् । इतिहासमा हेर्ने हो भने ब्रिटिश, भारत, भुटान, बर्मा (म्यानमार) र पाकिस्तानमा नेपालीहरूले रोजगारी पाउने गर्थे र त्यहीबाट नेपालको वैदेशिक रोजगारीको शृङ्खला सुरु भयो । ब्रिटिश सेनामा भर्ती हुनुबाट सुरु भएको भनिए पनि त्यसअघि नै अत्यधिक कर, अनिवार्य श्रम र सरकारी निकायको शोषणबाट बच्न नेपालीहरू देश छाड्ने गर्थे ।

नेपाल जस्तो विकासोन्मुख मुलुकमा वैदेशिक रोजगारीले अर्थतन्त्रलाई ठूलो योगदान पुर्‍याएको भए पनि सामाजिक, सांस्कृतिक र पारिवारिक संरचनामा गहिरो असर देखिएको छ । खासगरी दशैं–तिहारजस्ता चाडपर्वमा घर–घरमा युवाको अनुपस्थितिले शून्यता छाएको छ ।

गाउँघरमा अझै पनि परिश्रमको गन्ध, मायालु सम्बन्ध र संस्कृतिको सुगन्ध पाइन्छ । तर पछिल्ला दशकमा हजारौँ युवाहरू रोजगारीको खोजीमा परदेशिएका कारण चाडपर्वमा गाउँ सुनसान देखिन थालेका छन् । आर्थिक आवश्यकता र जीवनस्तर सुधार्ने चाहनाले उनीहरूलाई परदेश पुर्‍याए पनि घरमा बाँकी बाबुआमा, बालबालिका र दाम्पत्य जीवनमा गहिरो खालीपन छाएको छ ।

दशैं–तिहार नेपालीहरूको प्रमुख पर्व हो । परम्परागत रूपमा परिवार, आफन्त र छरछिमेकीसँग मिलेर मनाउने चाड भए पनि आज धेरै घर–परिवारका दशैं ‘फोन’ वा ‘इन्टरनेट’मार्फत सम्बन्ध टुट्न नदिने प्रयासमा सीमित छन् । गाजाबाजा, टीका, जमघट र पर्वको रमाइलोमा वैदेशिक रोजगारीका कारण प्रियजनको अनुपस्थितिले मौनता थपेको छ । यसरी वैदेशिक रोजगारीले अर्थतन्त्रलाई त बलियो बनाएको छ तर चाडपर्वको उमङ्गलाई भने शून्यताले भरिदिएको छ ।

प्रतिक्रिया दिनुहोस्