हेलम्बु एजुकेशन एण्ड लाइभ्लीहुड पार्टनरसीप – हेल्पले भदौ २१ गते काठमाडौंमा हेल्प एसईई छात्रवृत्ति वितरण समारोह सम्पन्न गरेको छ । कार्यक्रममा यस वर्ष देशका १५ जिल्लाका २३ वटा पालिकाबाट ७५ जना विद्यार्थीलाई कक्षा ११ र १२ अध्ययनका लागि ५० देखि ७५ हजार रुपैयाँसम्मको छात्रवृत्ति प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका महामन्त्री गगन थापाले हेल्पले गरेको सहयोगलाई मात्र होइन, विश्वास र भरोसाको प्रतीकका रूपमा लिनुपर्ने बताए । उनले विद्यार्थीहरूलाई अवसरलाई आत्मसात गरी समाज र देशका लागि योगदान दिन प्रेरित गरे ।
विशेष अतिथि कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख मेयर उपेन्द्र कार्कीले हेल्पले दुर्गम मात्र नभई काठमाडौंका जेहेन्दार र विपन्न विद्यार्थीलाई पनि छात्रवृत्तिमा समेटेकोमा धन्यवाद व्यक्त गरे । सोही अवसरमा पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई विशेष सम्मान प्रदान गरिएको थियो । २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा पाँचपोखरी थाङ्पाल गाउँपालिकाले सिन्धुपाल्चोक जिल्लाका अरू पालिकाभन्दा उत्कृष्ट स्थान, अर्थात् ७७ दशमलव ७ प्रतिशत नतिजा हासिल गर्न सफल भएको थियो । कार्यक्रमका विशेष अतिथि गाउँपालिकाका अध्यक्ष टासी लामाले पालिकाको तर्फबाट सम्मान ग्रहण गरेका थिए ।
सम्मान ग्रहण गर्दै अध्यक्ष टासी लामाले हेल्प र पाँचपोखरी थाङ्पाल गाउँपालिकाको सहकार्य शैक्षिक गुणस्तर सुधारका लागि महत्वपूर्ण रहेको अवगत गराए । हिमाली गाउँपालिका पाँचपोखरी थाङ्पालले विभिन्न समस्याका बाबजुद यो शैक्षिक उपलब्धि हासिल गर्न सकेकोमा हर्ष महसुस गरेको व्यक्त गर्नुभयो र सम्पूर्ण छात्रवृत्ति प्राप्त विद्यार्थी भाइबहिनीहरूलाई यो अवसर हो, अन्त्य होइन र यसको सदुपयोग गरि धैर्यता र लगनशीलताका साथ अघि बढ्न सल्लाह दिए । यो उपलब्धि गाउँपालिकाको नेतृत्वको तदारुकता, अभिभावकहरूको सहयोग, शिक्षकहरूको समर्पण र विद्यार्थीहरूको कडा मेहनतको प्रतिफल रहेको छ। यस सफलतामा हेल्प पनि हिस्सेदार भएकोमा गौरव अनुभव गर्दै आएको छ ।
यसका साथै, मोन्डो फाउण्डेशनका सिइओ माथ्यू ब्याण्डले हेल्पसँगको सहकार्यलाई गर्वको विषय बताए । हेल्पका सह–संस्थापक जिमी लामाले आफ्नो संघर्षको कथा सुनाउँदै विद्यार्थीलाई सकारात्मक सोचसहित अघि बढ्न प्रेरित गरे । साथै, छात्रवृत्ति पाएर सफल भएका विद्यार्थीहरूको अनुभव पनि कार्यक्रममा साझा गरिएको थियो । हेल्पले विगत १५ वर्षदेखि निरन्तर छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्दै आएको छ र हालसम्म ७ सय ४० भन्दा बढी विद्यार्थी लाभान्वित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्