सिन्धुपाल्चोक । चौतारा वृद्धाश्रम सेवा समितिले १७औँ साधारण सभा तथा सातौँ अधिवेशन सम्पन्न गरेको छ । सदरमुकाम चौतारास्थित वृद्धाश्रम परिसरमा सम्पन्न कार्यक्रममा संस्थागत गतिविधि, विगतका उपलब्धि तथा आगामी योजनाबारे विस्तृत प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
प्रतिवेदनअनुसार वृद्धाश्रममा हाल १५ जना जेष्ठ नागरिक आश्रित जीवन बिताइरहेका छन् भने स्थापना कालदेखि हालसम्म ६१ जनाले आश्रय पाएका छन् । सोमध्ये वृद्धाश्रममा बस्दै आएका ३४ जनाको मृत्यु वृद्धाश्रममा नै भएको समितिले जनाएको छ ।

साधारण सभाको समापनसँगै अधिवेशनबाट होमकुमारी पुरीको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको छ । सो अवसरमा कार्यक्रम सभापति तथा निवर्तमान अध्यक्ष मायादेवी पौडेलले कार्यकालभरिको अनुभव सुनाउँदै सबैको सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिइन् ।
नवगठित समितिले वृद्धाश्रममा रहेका जेष्ठ नागरिकलाई दैनिक खानपान, स्वास्थ्य उपचार, आश्रय तथा अन्य आवश्यक सेवासुविधा उपलब्ध गराउँदै आएको र यसलाई निरन्तरता दिँदै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम ल्याउने प्रतिवद्धता जनाएको छ । यसका लागि स्थानीय तह, सरोकारवाला निकाय तथा सहयोगी मनकारी व्यक्तिहरूलाई सहकार्यका लागि आग्रह गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि कृष्णप्रसाद सापकोटाले जेष्ठ नागरिकहरूको सेवा र संरक्षणलाई समाजको नैतिक कर्तव्यको रूपमा लिनुपर्ने बताउँदै वृद्धाश्रमको आवश्यकताअनुसार सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । त्यस्तै, विशेष अतिथि प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले वृद्धाश्रमलाई सहयोग गर्न प्रशासन सधैँ तत्पर रहेको बताए ।

सो अवसरमा आजीवन सदस्य तथा सहयोगीहरूलाई सम्मान गर्ने कार्यक्रम समेत आयोजना गरिएको थियो । साथै १०२ वर्षका भक्तबहादुर भण्डारीलाई प्रमुख अतिथि कृष्णप्रसाद सापकोटा र विशेष अतिथि बन्धु प्रसाद बास्तोलाबाट विशेष सम्मान गरिएको थियो ।
वक्ताहरूले जेष्ठ नागरिकको सम्मान, सेवा र संरक्षण समाजको सामूहिक जिम्मेवारी भएको उल्लेख गर्दै वृद्धाश्रमलाई सबल बनाउन सबै पक्ष एकताबद्ध हुनुपर्नेमा जोड दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्