नेपाली समाजको सबैभन्दा ठूलो र श्रद्धा–विश्वासले जोडिएको महान् पर्व बडादशैं आजदेखि प्रारम्भ भएको छ । आज पहिलो दिन घटस्थापना, जसलाई दुर्गा शक्तिको आह्वान र विजय यात्राको आरम्भको दिनका रूपमा देशभर उत्साह र भक्ति भावनाका साथ मनाइँदैछ ।
प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लासपूर्वक मनाइने बडादशैं असत्यमाथि सत्य, अन्यायमाथि न्याय र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा व्याख्या गरिन्छ ।
आजको दिन घर–घरमा दियो, कलश र गणेश स्थापना गरेर विधिपूर्वक घटस्थापना गरिन्छ। गाईको गोबरले लिपपोत गरिएको पूजा कोठामा वा दशैं घरमा चोखो बालुवा वा माटो ल्याई जौ छरिन्छ र जमरा राखिन्छ । दुर्गा देवीको प्रिय वस्तु मानिने यो जमरा विजया दशमीका दिन आशीर्वादसहित ग्रहण गरिन्छ ।
धर्मशास्त्रअनुसार जौ बाहेक अन्य अन्नको जमरा राख्ने परम्परा स्वीकृत नभएको पञ्चाङ्ग निर्णायक समितिका पण्डितहरू बताउँछन् । घटस्थापनाबाट सुरु भएको नवरात्रभर अधिष्ठात्री देवी दुर्गाका नौ रुप—शैलपुत्रीदेखि सिद्धिदात्रीसम्म—को पूजा आराधना गरिन्छ ।
यस अवधिमा देशभरका शक्तिपीठहरू—नक्साल भगवती, शोभा भगवती, पलाञ्चोक भगवती, भद्रकाली, मैतीदेवीलगायतका मन्दिरमा भक्तजनहरूको भीड लाग्ने गर्दछ । महाअष्टमी र महानवमीका दिन बलिपूजा गर्ने परम्परा अझै पनि धेरै स्थानमा जीवित छ ।
दशैंलाई केवल धार्मिक संस्कारको पर्व मात्र नभई सामाजिक सद्भाव, पारिवारिक एकता र मानव कल्याणको उत्सवका रूपमा पनि लिइन्छ । यस वर्ष विजया दशमीको टीका असोज १६ गते परेको छ।
प्रतिक्रिया दिनुहोस्