काठमाडौं । देशभर जेनजी पुस्ताले थालेको आन्दोलन चर्किएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्रीको सचिवालयले मंगलबार बिहान ओलीले पदत्याग गरेको जानकारी दिएको हो ।
सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध सोमबारदेखि देशव्यापी आन्दोलन भइरहेको थियो । सो क्रममा सोमबार मात्र १९ जना युवाले ज्यान गुमाएका थिए भने सयौं घाइते भएका थिए । घटनापछि प्रदर्शन झनै उग्र बन्दै गएपछि प्रधानमन्त्री ओली अन्ततः राजीनामा दिन बाध्य भएका हुन् ।
मंगलबार बिहानैदेखि काठमाडौंसहित देशका प्रमुख शहरहरूमा प्रदर्शन तीव्र बनेको छ । आक्रोशित युवाहरूले शीर्ष नेताहरूका घर, पार्टी कार्यालय, सरकारी निकाय र प्रहरी भवनमा ढुंगामुढा तथा आगजनी गरेका छन् । स्थिति नियन्त्रणमा लिन कठिन भएपछि मन्त्रीहरूलाई समेत नेपाली सेनाको हेलिकप्टरमार्फत सुरक्षित स्थानमा सारिएको छ ।
युवाहरूको आन्दोलन अझै जारी रहेको र काठमाडौं उपत्यकासहित देशभरको वातावरण तनावग्रस्त बनेको सुरक्षास्रोतले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्