सिन्धुपाल्चोक । अखिल (क्रान्तिकारी) विद्यार्थी संगठन हाल पूर्ण सक्रिय बन्दै गएको छ । विद्यार्थीको शैक्षिक, सामाजिक र राजनीतिक अधिकारका लागि निरन्तर क्रियाशील संगठनले एकै दिनमा चोैतारा साँगाचोकगढी नगरपालिकाका तीन विद्यालयमा संगठन विस्तार गरेको हो ।
श्री कृष्ण रत्नगंगा माध्यमिक विद्यालयमा कक्षा–११ को संगठनमा उषा राईमाझी र कक्षा–१२ को संगठनमा नारायणकाजी थापा अध्यक्षमा चयन भएका छन् । त्यस्तै सिद्धी गणेश माध्यमिक विद्यालयमा पूर्णिमा श्रेष्ठ अध्यक्षमा चयन भएकी छन् भने श्री सेतीदेवी माध्यमिक विद्यालय स्याउलेमा नेतृत्वमा सबिन परियार चयन गरिएको छ ।

संगठनले विद्यार्थीबीच ऐक्यबद्धता सुदृढ गर्ने, शैक्षिक गुणस्तर वृद्धि गर्न पहल गर्ने, शैक्षिक शुल्क नियन्त्रण, छात्रवृत्ति वितरण, भौतिक सुविधा अभाव भएका विद्यालयमा आवश्यक दबाब सिर्जना गर्ने, र विभिन्न सामाजिक–सांस्कृतिक कार्यक्रममार्फत विद्यार्थीको प्रतिभा उजागर गर्ने कार्य गर्दै आएको छ ।
नेतृत्व चयनसँगै विद्यार्थीहरूको हकहितमा अझ प्रभावकारी ढंगले काम हुने अपेक्षा गरिएको छ । संगठनको सक्रियताले विद्यार्थीलाई नेतृत्व विकास, अधिकारप्रतिको चेतना र सामाजिक उत्तरदायित्वप्रति सचेत गराउने विश्वास लिइएको छ ।
प्रतिक्रिया दिनुहोस्