काठमाडौ । रक्तदानलाई नियमित जीवनशैली बनाउन तथा स्वयंसेवी रक्तदाताहरूको सक्रियता बढाउन ब्लड डोनर्स एशोसिएसन नेपाल (ब्लोडान) ले आफ्नो २८औँ केन्द्रीय साधारण सभा काठमाडौंमा सम्पन्न गरेको छ । शनिबार काठमाडौंको खुसीबुस्थित नेपा वेङक्वेटमा सम्पन्न उक्त साधारण सभामा आगामी कार्ययोजना, संगठन सुदृढीकरण, रक्तदान अभियानलाई अझ प्रभावकारी बनाउनुपर्ने विषयमा विस्तृत छलफल गरिएको थियो ।
कार्यक्रममा रक्तदान क्षेत्रको महत्व, चुनौती र आगामी दिनमा आवश्यक हुने रणनीतिहरूबारे समेत प्रस्तुति दिइएको थियो । साधारण सभाले संस्थालाई थप सबलीकरण गर्दै मुलुकभर रक्तदान अभियानलाई निरन्तरता दिने निर्णयसमेत गरेको छ ।
प्रमुख अतिथि काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले ब्लोडानको क्रियाकलापको उच्च प्रशंसा गर्दै रगत जीवनको अमूल्य सम्पत्ति रहेको र भावी दिनहरूमा अझ बढी मानिसहरूलाई रक्तदानका लागि प्रोत्साहन गर्न शुभकामना दिए । उपप्रमुख डंगोलले ब्लोडानले यो अभियानलाई निरन्तर अगाडि बढाउँदै समाजलाई ठूलो योगदान पुर्याउँदै आएकोमा धन्यवाद समेत व्यक्त गरिन ।
त्यसैगरी, साधारण सभाको अध्यक्षता गरेका ब्लोडान केन्द्रीय अध्यक्ष राजेश श्रेष्ठका अनुसार २०४९ सालमा ‘रक्तदान जीवनदान’ भन्ने नारासहित सुरुआत भएको यो संस्थामा अहिले हजारौं स्वयंसेवी दाताहरू संस्थाको अभियानमा संलग्न भएका छन् । उनी भन्छन् अझै प्रभावकारी रूपमा रगत व्यवस्थापन, आपतकालीन सहयोग र अन्तर्राष्ट्रिय सहकार्यलाई मजबुत बनाउँदै लैजाने हाम्रो संस्थाको प्रतिबद्धता हो ।”
वि.सं. २०४९ मा स्थापना भएको ब्लोडानले स्थापना कालदेखि नै नेपालभरका हजारौं स्वयंसेवी रक्तदातालाई अभियानमा जोड्दै आएको छ । आपतकालीन अवस्थामा बिरामीले सहजै रगत पाउन सकून् भन्ने उद्देश्यका साथ संस्थाले नियमित रक्तदान कार्यक्रम, सचेतना अभियान, रगत आपूर्ति व्यवस्थापन र दाताको डाटाबेस संकलन जस्ता महत्वपूर्ण कार्य गर्दै आएको छ ।
ब्लोडान रक्तदान गर्ने अन्तर्राष्ट्रिय संस्थाहरुको महासंघ (IFBDO) सँग आवद्ध संस्था पनि हो । यसले अन्तर्राष्ट्रिय अनुभव र सहकार्यलाई उपयोग गर्दै नेपालमा सुरक्षित र पर्याप्त रगतको सुनिश्चितताका लागि योगदान पुर्याउँदै आएको छ ।
साधारण सभामा देशभरका शाखा प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो । सहभागीहरूले ब्लोडानले आपतकालीन परिस्थितिमा निभाएको भूमिकालाई उच्च प्रशंसा गर्दै भविष्यमा पनि संस्थाको महत्व अझ बढ्दै जाने विश्वास व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्