२०८२ भाद्र १२

‘माओवादी नै जनताको हितको पक्षधर पार्टी हो’ ईश्वरीप्रसाद श्रेष्ठ सहित एमालेका नेताहरू माओवादी प्रवेश

सिन्धुपाल्चोक — नेकपा (एमाले) मा तीन दशकभन्दा बढी समय सक्रिय रहेका चौतारा क्षेत्रका विशिष्ट नेताहरू माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

बिहीबार काठमाडौंस्थित माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रदेश कमिटी सदस्य तथा एमालेका पुराना नेता ईश्वरीप्रसाद श्रेष्ठ, चौतारा साँगाचोकगढी नगरपालिका–१० का पूर्व वडाध्यक्ष तथा प्रदेश कमिटी सदस्य विष्णु लामा, जिल्ला कमिटी सदस्य सिताराम गिरी, मेखबहादुर न्यौपाने, रमेश श्रेष्ठलगायतका नेताहरू औपचारिक रूपमा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश कार्यक्रम माओवादी उपाध्यक्ष अग्निप्रसाद सापकोटाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । यसअघि उनीहरूलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यमा प्रवेश गराउने तयारी भए पनि प्रचण्ड विराटनगर भ्रमणमा जानु भएकाले सापकोटाको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा नेताहरूलाई पार्टीमा स्वागत खादा र अबिर लगाई गरिएको थियो ।

कार्यक्रममा बोल्दै उपाध्यक्ष सापकोटाले भने, “जनताको हक र अधिकारका लागि लामो समय संघर्षमा योगदान पुर्‍याएका अनुभवी नेताहरूको माओवादी केन्द्रमा पुनः प्रवेश ऐतिहासिक निर्णय हो । उहाँहरूको आगमनले हाम्रो संगठन अझ सुदृढ, जनमुखी र समाजवादको यात्रामा दृढ बन्नेछ,” ।

त्यसैगरी, नवप्रवेशी नेता ईश्वरीप्रसाद श्रेष्ठले भने, “लामो समय एमालेमा रहेर योगदान गरे पनि पछिल्लो समयमा त्यहाँ हाम्रो विचार सुन्ने वातावरण छैन । माओवादी केन्द्र नै जनताको हितको पक्षधर पार्टी भएकाले हामी फेरि यही बाटो रोजेका हौँ,” भन्दै भविष्यमा माओवादीलाई अझ सशक्त बनाउन आफुहरूको भूमिका रहने प्रतिवद्धता जनाए ।

त्यस्तै, पूर्व वडा अध्यक्ष विष्णु लामाले भने, “माओवादी आन्दोलनबाटै हाम्रो राजनीतिक यात्राको सुरुवात भएको हो । फेरि मूल बाटोमै फर्किन पाउँदा खुशी लागेको छ । जनताको विश्वास जित्ने गरी पार्टीलाई अझ जनमुखी बनाउन सक्रिय रहनेछौँ,” भन्ने धारणा राखे ।

माओवादी केन्द्रले आफ्नो आधिकारिक वक्तव्यमा पनि यस्ता अनुभवी नेताहरूको पार्टी प्रवेशले संगठनलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्