सिन्धुपाल्चोक । भोटेकोशी गाउँपालिका–१ मा निर्माणाधीन ४४ मेगावाट क्षमताको भोटेकोशी–१ जलविद्युत आयोजना अन्तर्गतको सुरुङ खन्ने कार्य सम्पन्न भएको छ ।
ईलेक्ट्रो पावर कम्पनी लिमिटेडले करिब ८ अर्ब रुपैयाँ लागतमा निर्माण गरिरहेको आयोजनाको २ हजार ३ सय ३८ मिटर लामो सुरुङ सोमबार औपचारिक रूपमा ‘ब्रेकथ्रु’ गरिएको हो । सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठ र गाउँपालिकाका अध्यक्ष पासाङ नुर्वु शेर्पाले संयुक्त रूपमा स्विच अन गरी सुरुङ उद्घाटन गरेका थिए ।
कम्पनीका अनुसार आगामी सात महिनाभित्र आयोजना सम्पन्न गरी उत्पादित विद्युत केन्द्रीय प्रसारण लाइनमा जडान गर्ने तयारी गरिएको छ । आयोजनाबाट राष्ट्रिय ग्रिडमा थप हुने विद्युत आपूर्तिले मुलुकको ऊर्जा क्षेत्रमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।
स्थानीय प्रतिनिधिहरूले आयोजना सञ्चालनमा आएपछि रोजगारीका अवसर सिर्जना हुने, सडक तथा पूर्वाधार सुधार हुने र स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष फाइदा पुग्ने विश्वास व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्