२०८२ भाद्र ११

भोटेकोशी इको क्षेत्रमा अबरुद्ध अरनिको लोकमार्ग खुलाउनेबारे छलफल

२८ साउन, काठमाडौँ । सिन्धुपाल्चोक १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य माधव सापकोटा सुबोधले अरनिको लोकमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–२ स्थित इको क्षेत्रमा लगातार पहिरो र सडक भासिने समस्याका कारण विगत १० दिनदेखि अवरुद्ध सडक सञ्चालनबारे आज सिंहदरबारमा सम्बद्ध अधिकारीहरुसँग छलफल गरेका छन् ।

सापकोटा नेतृत्वको टोलिले बुधबार भौतिक पूर्वाधार सचिव केशब शर्मा र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ई. दिनेश प्रसाद भट्टसँग छुट्टा छुट्टै छलफल गरी अबरुद्ध सडक सञ्चालन बारे ध्यानकर्षण गराएको हो । सांसद सापकोटा सहित बागमती प्रदेश सभा सदस्य तथा नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेल, नेता टिएन सापकोटा, भोटेकोशी गाउँपालिकाका नेकपा (माओवादी केन्द्र) का जिम्मेवार नेताहरू सहभागी टोलीले भेटमा इको क्षेत्रको सडक समस्याको दीर्घकालीन समाधानका उपाय खोज्न आग्रह गरेका थिए ।
छलफलमा हरेक वर्ष दोहोरिने समस्या बनेको इको क्षेत्रको पहिरो र सडक भासिने अवस्थाबारे स्थानीय प्रभावितहरूसँगको छलफलमा यसलाई राष्ट्रिय प्राथमिकतामा राख्न माग गरिएको छ। रसुवागढी नाका समेत बन्द रहेको अवस्थामा तातोपानी नाकालाई निरन्तर सञ्चालनमा ल्याउन प्राधिकरणले सम्बद्ध निकायहरूसँग समन्वय गर्ने, साथै स्थानीय तहको माग र जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिसका आधारमा प्राधिकरणको राष्ट्रिय परिषद्मा विषय उठान गर्ने समझदारी भएको सांसद सापकोटाले जानकारी दिए ।
यसअघि मंगलबार आफूले सो विषय प्रतिनिधि सभाको आकस्मिक समयमा उठाएर सरकारको ध्यानाकर्षण गराएको बताउँदै सम्बद्ध अधिकारीहरुसँगको छलफलपछि सडक विभागका अधिकारी तथा भौगर्भिक अध्ययन टोली आज इको क्षेत्रमा पुगेको जानकारी दिए । २०७२ सालको भूकम्पपछि बलेफी गाउँपालिकाको जुरेदेखि तातोपानी नाकासम्मको सडक समस्याग्रस्त छ

प्रतिक्रिया दिनुहोस्