२०८२ भाद्र १२

‘बासी रोटी : डिएसपीले कुटे भान्से , भान्से वर्खास्त

सिन्धुपाल्चोक — जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डिएसपी) माधव राज खरेलमाथि आफ्नै क्वाटरमा कार्यरत भान्से शंकर कार्कीलाई कुटपिट गरेको आरोप लागेको छ। विभागीय कारबाहीपछि कार्कीलाई जागिरबाट वर्खास्त गरिएको छ भने पीडित पक्षले निष्पक्ष छानबिन र न्यायको माग गरेको छ।

घटना साउन २२ गते दिउँसो करिब २ बजे भएको हो। कार्कीका अनुसार, उनले डिएसपीका लागि लसुन–प्याज प्रयोग नगरी छुट्टै भाँडामा रोटी–तरकारी बनाएका थिए। तर, बिहानै पकाएको रोटी खान नमिल्ने भन्दै डिएसपीले अपशब्द प्रयोग गरी दुई मुक्का हानेका आरोप छन्। आत्मरक्षाका क्रममा तेस्रो मुक्का रोक्ने प्रयास गर्दा ट्रे फुटेर डिएसपीको काँधमा चोट लागेको र त्यसपछि थप कुटपिट भएको पीडितको दाबी छ।

कुटपिटपछि प्रहरी निरीक्षक रुपेश शाह आएर उनलाई नियन्त्रणमा लिई हिरासतमा पठाएको आरोप पनि कार्कीले लगाएका छन्। साउन २३ गते आमाको मासिक श्राद्धका लागि घर जाने तयारीमा रहेका कार्कीलाई परिवारसँग भेट्न नदिई केवल स्वास्थ्य परीक्षणका लागि मात्र जिल्ला अस्पताल पुर्‍याइएको परिवारको भनाइ छ। रिपोर्टमा बाहिरी चोटपटक देखिएको छैन तर टाउको दुख्ने, छाती पीडादायी हुने र सास फेर्न गाह्रो हुने समस्या रहेको कार्कीको दाबी छ।

साउन २६ गते प्रहरी कार्यालयमा छलफल हुने भनिए पनि सोही दिन बिहान १० बजे उनलाई ‘अनुशासनहीन कार्य’को आरोपसहित वर्खास्त पत्र थमाइएको थियो। कार्की र उनका आफन्तहरूले घटनाको सत्यता प्रमाणित गर्न सीसीटीभी फुटेज जाँच गर्न माग गरेका छन्।

डिएसपी खरेलले यो विभागीय कारबाही भएकाले कुनै टिप्पणी नगर्ने बताए। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विनोद घिमिरेले घटनाबारे केन्द्रलाई जानकारी नभएको र जिल्ला स्तरमै जवाफ दिनुपर्ने बताए।

पीडित परिवारले पद र शक्तिको आडमा घटना ढाकछोप गर्न नदिन आग्रह गर्दै दोषीलाई कानूनी दायरामा ल्याउन माग गरेका छन्। उनीहरूका अनुसार, प्रहरी संगठनमै काम गर्ने सामान्य कर्मचारीका लागि यस्ता घटनामा न्याय पाउनु चुनौतीपूर्ण भएको छ।

प्रतिक्रिया दिनुहोस्