फोटो र पत्रकारिता एक अर्काको परिपूरक माध्यम हो । जसले यथार्थलाई शब्द र दृश्यको संयोजनमा प्रस्तुत गर्दै आएको छ । जहाँ लेखले घटनाको विवरण दिन्छ भने फोटोले त्यस घटनाको भावनात्मक गहिराइलाई उजागर गर्छ । युद्धका भयावह क्षण होस वा बाढीले तहसनहस पारेको गाउँ, आन्दोलनको आक्रोश वा बालकको निर्दोष अनुहार, यी विषयहरुलाई लेखले होइन फोटोले पाठकको मन र मस्तिष्क दुवैमा गहिरो प्रभाव पार्न र सुचना प्रस्तुत गर्न अझ सहज बनाउछ । फोटो केवल दृश्य होइन, त्यो समयको एउटा मौन साक्षी हो, जसले बिना शब्द सत्य बोल्दछ । त्यसैले फोटोपत्रकारिता केवल सौन्दर्यको अभिव्यक्ति नभई सत्यको ऐना र समाजको दस्तावेज पनि हो ।
फोटोपत्रकारितामा चुनौती नभएको भने होइन । कहिलेकाहीँ पत्रकारहरू सत्यको खोजीमा अत्यन्त जोखिमपूर्ण परिस्थितिमा पुग्नुपर्छ—जसमा युद्धभूमि, प्राकृतिक प्रकोप प्रभावित क्षेत्र र सत्ता र शक्तिको विरोधमा भइरहेका आन्दोलनहरू पनि पर्दछन् । यस्ता अवस्थामा उनीहरूको उपस्थिति केवल महत्त्वपूर्ण होइन, अपरिहार्य हुन्छ, ताकि आम नागरिकले सत्य, सन्तुलित र विश्वसनीय सूचना पाउन सकुन् । यस्ता क्षणमा फोटो खिच्ने निर्णयले नैतिकता, गोपनीयता र मानवीय संवेदनशीलताको परिक्षा लिने गर्दछन् । तर पनि, डिजिटल युगको गति र पहुँचले फोटो पत्रकारितालाई अझ प्रभावशाली बनाएको छ, जसले न केवल समाचारको विश्वसनीयता बढाउँछ, सामाजिक चेतना र परिवर्तनको वाहक पनि बनेको छ । यसरी, फोटो र पत्रकारिता मिलेर केवल सूचना मात्र दिने होइन, इतिहास लेख्ने, संवेदना जगाउने र परिवर्तनको बीजारोपण गर्ने काम हुन्छ
प्रतिक्रिया दिनुहोस्