भूपी सरोवर
नेपालको शिक्षा नीतिमा नेपाली माटो सुहाउँदो नीति निर्माण गरि शिक्षक,विद्यार्थी र अभिभावकहरूको हितमा एवम् मुलुककै शिक्षामा आमूल गुणात्मक परिवर्तनका साथ प्रतिस्पर्धी विश्व बजारमा आफ्नो स्थान सुरक्षित गर्नका निमित्त जब सम्म बौद्धिक शिक्षक वर्गहरूको समूह नै शिक्षा विधेयक निर्माणमा सहभागी हुँदैनन् तब सम्म एक वर्गले अर्को वर्गलाई आफूसमान र आफूभन्दा माथि देख्नै सक्दैन्। त्यसै किसिमले विधेयक तयार पारेर दिन्छ।
निजामती कर्मचारीले आफ्ना विधि,विधान र विधेयक आफैँले निर्माण गर्नेदेखि मुलुककै शासन सम्बन्धि विधि,विधान लगायतका सम्पूर्ण कुरामा सहभागी,छलफल र लेखन,तयार पारेर अन्तिम स्वीकृति सहितको पारित हुँदाका बखतसम्म सहभागी हुन्छन् । भरखरको देशभित्रको तात्तातो बिषय – ‘कुलिङ पिरियड’ ले पनि अझ प्रष्ट पारेको छ। यसको मतलब निजामती कर्मचारीप्रति द्वेष होइन । निजामती कर्मचारीले विधेयक निर्माणमा खेलेको भूमिका मात्रै उल्लेख गरेको हो।
मा.विद्या भट्टराई ज्यूले शिक्षामन्त्री पदबाटै राजिनामा दिनुपरेको कारण पनि नै यहीँ हो। शिक्षक वर्गबाट राजनीतिमा प्रवेश गर्दै त्यहाँसम्म पुग्नुभएकै हो तर अल्पमतमा परेर पनि आफ्नो अडानमा रहँदा रहँदै, उहाँ स्वयंले भनेअनुसार समिति र उपसमितिले आफू अनुकुल निर्माण गर्ने खोज्ने र सहमतिमा नपुर्याउने लगायतका प्रवृति भावी हुदै गयो। अडानमा बसेर काम गर्दै गइरहेको अवस्थामै पार्टी नेतृत्वको दबाबले पदबाट राजिनामा दिएर घर फर्किनुपर्यो।
त्यसपछिका छलफल र सहमतिहरूका बुँदाहरूमा सहमति भइसकेपश्चात् पनि किन सहमतिहरू फेरि फेरि किन फेरिदै गइरहेका छन् त? हिजो सहमति हुँदा बुँदामा एउटा कुरो लेखियो आज त्यहीँ बुँदा फरक किसिमले प्रस्तुत गरिन्छ अनि फेरि त्यसमा सहमति खोजिन्छ र अन्तमा सहमतिको बुँदाले नेपाली माटो अनुसार नेपालको शिक्षा क्षेत्रलाई प्रभावकारी रूपमा समेट्न सक्दैन । अन्ततः शिक्षा उहीँ निजी क्षेत्र अनि एनजीओ र आइएनजिओको हातमा जान्छ।
नेपालको शिक्षा सकारात्मक रूपले माथि उठिरहेको होइन,खस्किदो क्रममा छ। एकचोटि आफ्नो घरभित्रको कुनै एकजना सदस्यको शिक्षा र संस्कार हेरी विचार गर्नुहोस् ।
हाम्रो देशको शिक्षा कतातिर जाँदैछ । हाम्रो भविष्य के हुने भन्ने तपाईं आफैँ थाहा पाउनुहुनेछ!
परिवर्तनको सुरुवात तपाईं हामीबाटै गर्नुपर्छ!
प्रतिक्रिया दिनुहोस्