२०८० मंसिर २५

बाल अधिकार अभियानमा सुवास नेम्वाङको साथ ।

सन्दर्भ: राष्ट्रिय बाल दिवस, २०८० ।
गौरी प्रधान –  सुवास नेम्वाङ, एक सफल राजनीतिज्ञ, संविधानविद् र बौद्दिक व्यक्तित्व मात्रै थिएनन्। उनी एक मानव अधिकार र अन्तर्राष्ट्रिय कानूनको ज्ञाता र मानव अधिकार प्रति प्रतिवद्ध व्यक्ति पनि हुनुहुन्थ्यो ।

निर्दलिय पंचायत कालमा उहाँले नेपाल बार एशोसियसनको महासचिवको हैसियतले मानव अधिकार र नागरिक स्वतन्त्रताको निम्ति निर्वाह गर्नु भएको भूमिका महत्वपूर्ण रहेको थियो । नेपालको ऐतिहासिक विद्यार्थी आन्दोलनमा हामी भन्दा अगाडिको पुस्ता भएको हुंदा हामीहरुको उहाँसंगको सम्बन्ध तथा सम्पर्क घनिष्ठ हुनु स्वभाविकै थियो ।

त्यसमाथि कानून स्नातकको अध्ययनको बेला मैले “बालश्रम र कानून” विषयमा मूटकोर्ट लेख्ने सिलसिलामा उहाँसंग सल्लाह सुझाव पनि लिने गर्दथे । त्यसबाहेक देशमा मानव अधिकार, नागरिक स्वतन्त्रता र सामाजिक न्याय विषयक अभियानहरुमा सधैंजसो उहाँ नागरिक आन्दोलन संगसंगै हुने गर्दथें । जब विश्वविद्यालयको पढाइ सके पश्चात् मैले मानव अधिकार र अन्तराष्ट्रिय सम्वन्धको विषयमा कार्य गर्न थालें, तब हाम्रो सम्बन्ध बिस्तारै बाक्लो हुँदै गयो ।

नेपालमा बाल अधिकार अभियानलाई सुत्रपात गर्ने सन्दर्भमा, खासगरी सिविन-नेपालको स्थापनाको क्रममा उहाँसंगको सहकार्य गाढा र महत्वपूर्ण रहेको थियो ।

उहाँ सिविन-नेपालको संस्थापक कानूनी सल्लाहकार पनि हुनुहुन्थ्यो । हामीले संगसंगै बाल अधिकार सम्वन्धी विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनहरुमा पनि सहभागी भएका थियौं । रंगभेद विरुद्धको जनक्रान्ति पश्चात् भएको सन् २९९४को प्रथम निर्वाचनमा हामीले (सुवास नेम्वाङ, विश्वकान्त मैनाली र म स्वयं)ले दक्षिण अफ्रिकाको पहिलो जन-निर्वाचनमा संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय पर्यवेक्षकको रुपमा सहभागी भएका थियौं । पछि, उहाँ व्यवस्थापिका-संसदको सभामुख वा ऐतिहासिक संविधान सभाको अध्यक्ष हुँदाको बेला पनि हाम्रो सम्बन्ध र सहकार्य मानव अधिकार, बालअधिकार र सामाजिक न्यायको निम्ति नै केन्द्रित रह्यो ।

आज भाद्र २९, २०८० । देशभरी ५९औं राष्ट्रिय बाल दिवस मनाईरहेका छौं । अपशोच आजभन्दा केही दिन अगाडि मात्रै उहाँको हृदय विदारक तथा असामयिक निधन भएको थियो । यो उहाँको परिवार र उहाँ सम्वद्ध दलको लागि मात्र नभएर सिंगो देशको निम्ति पनि एक गहन नोक्सानी हो । नेपालको बाल अधिकार अभियानलाई स्थापना, विकास र सुढृद बनाउन हामीले उहाँबाट विभिन्न हिसाबबाट साथ सहयोग पाएका थियौं ।

विचार, दृष्टिकोण र सहकार्यको हिसाबबाट अत्यन्त घनिष्ठ वरिष्ठ मित्र वा दाजुलाई असामयिक रुपमा गुमाउन पर्दा हामी मर्माहित भएका छौं । यो शोकको घडीमा हामी सबैले धैर्य गर्न सकौं । उहाँका शोक संतप्त परिवार-जनमा हार्दिक समवेदना व्यक्त गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली स्वरुप प्रस्तुत “बाल अधिकार अभियानमा सुवास नेम्वाङको साथ” शिर्षकको आलेख समर्पण गर्न चाहन्छु ।

१. सन् १९८६ । काठमाण्डौमा एसिया-प्यासेफिक स्तरको एक अन्तरास्ट्रिय स्तरको मानव अधिकार सम्वन्धी कार्यशाला गोष्ठीको तैयारीको वेला थियो । त्यसको संयोजकको जिम्मा मैले पाएको थिंए । त्यतिञ्जेल कार्यक्रम गर्न सहज थिएन, त्यसैले अर्ध-भूमिगत शैलीमा बज्र होटेलमा गर्ने निधो गर्‍यौं सोही तैयारीको क्रममा तत्कालिन नेपाल बार एशोसियनका महासचिव तथा हाम्रा सिनियर दाजु सुवास नेम्वाङसंग भेट गरेका थियौं ।

सोही सन्दर्भमा मैले उहाँसंग बाल अधिकारको निम्ति सिविन (CWIN) नेपालको स्थापना गर्ने जानकारी गरेको थिंए । उहाँले सो विषयलाई सकारात्मक टिपणी गर्नाका साथै दरो समर्थन पनि गर्नु भएको थियो ।

२. नोभेम्बेर २०, १९८७ । आजैको दिन हामीले सिविन नेपालको स्थापनाको औपचारिक घोषणा गरेका थियौं । यस कुराको निर्णय जनवरी १, १९८७मा नै भएको थियो ।

त्यसपछाडि हामी संस्था स्थापनाको पूर्ण तैयारीमा लागेका थियौं । त्यसै बैठकले अधिवक्ता सुवास नेम्वाङ्गलाई सिविनको पहिलो कानूनी सल्लाहकारको रुपमा मनोनयन गरेको थियो । त्यसवेला देखि नै उहाँले बाल अधिकारको विषयमा हामीलाई आफ्नो सहयोग, साथ र सल्लाहहरु प्रदान गर्दै आउनु भएको हो । यश अर्थमा उहाँ सिविनको संस्थापक कानूनी सल्लाहकार पनिक्स हुनुहुन्थ्यो ।

३. अक्टोबर २६-३०, १९८८ । सिविनले काठमाडौंंमा प्रथम दक्षिण एशियाली बाल अधिकार सम्मेलन सम्पन्न गरेको दिन हो । सो कार्यक्रममा भारतबाट नोवेल शान्ति पुरस्कार विजेता कैलाश सत्यार्थी, मानव अधिकार रक्षक रवि नायेर र अधिवक्ता मनवेन्द्र मण्डल, पाकिस्तानबाट वरिष्ठ अधिवक्ता राफी सफी र पत्रकार मैसून हुसेन, श्री लंकाबाट धम्मदेश अम्बलमपितिया, बंगलादेशबाट सिस्टर रोजलिन कोस्टा थाइल्यान्डबाट पूर्व एशियाली बिद्यार्थी संघ (ASA) का महासचिव पानुडा बुनपाला लगायत नेपाल स्थित अन्तर्राष्ट्रिय नियोग र नेपालका मानव अधिकार रक्षकहरुले भाग लिनु भएको थियो । सो कार्यक्रमको अथिति बक्ताको रुपमा मानव अधिकार रक्षक द्वय पद्म रत्न तुलाधर र सुवास नेम्वाङ्गले पनि सम्बोधन गर्नु भएको थियो ।

सोही कार्यक्रमको निष्कर्षमा एक घोषणापत्र जारीहुनाको साथै दक्षिण एशियाली स्तरको पहिलो बाल अधिकार संस्था “दक्षिण एशियाली बाल अधिकार मञ्च” गठन गरेका थियो सो मञ्चको संस्थापक अध्यक्षमा म स्वयं निर्विरोध निर्वाचित भएको थिंए । सो कार्यशाला गोष्ठिको घोषणा-पत्रको तैयारीमा पनि उहाँ र पद्मरत्न तुलाधरसंग सल्लाह-सुझाव र परामर्श लिएका थियौं ।
४. १९९१ । २०४५-४६ ऐतिहासिक जन-आन्दोलन पश्चात तत्कालिन सर्वोच्च अदालतको न्यायधिश विश्वनाथ उपाध्यायको अध्यक्षतामामा गठित संविधान सुझाव शाही आयोगमा बाल अधिकारअभियानको तर्फबाट म स्वयंको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले १० बुँदे सुझाव प्रस्तुत गरेको थियो ।

बाल अधिकार सम्वन्धी सो सुझाव तैयारीको क्रममा सुवास नेम्वाङ्ग र वरिष्ठ अधिवक्ता कुशुम श्रेष्ठसंग पनि परामर्श लिएका थियौं । त्यसवेला, आयोगको अध्यक्ष श्री उपाध्यायले बालबालिकाको तर्फबाट ज्ञापन-पत्र प्रस्तुत गर्न जाँदा सो कार्यको प्रशंसा गर्नु भएको थियो । “अरु सबैले आफ्नो हक स्थापना गर्न आयोगमा आ-आफ्नै ढङ्गले आउने गर्छन् । तपाईहरु भने बालबालिकाकोभविष्य राम्रो होस् भन्ना खातिर आउनु भएको छ ।” ” यो स्वागत योग्य कुरा हो ।” भन्नू भएको थियो ।

५. १९८९, ढाका बंगलादेश । दक्षिण एशिया क्षेत्रमा बाल अधिकार अभियान बिस्तारै अगाडि बढ्दै थियो । अभियानलाई सो क्षेत्रमा विकास र विस्तार गर्न सिविन नेपालले भरमग्दुर प्रयास जारी राखेको थियो । सोही क्रममा दोश्रो दक्षिण एशियाली बाल अधिकार सम्मेलन बंगलादेशको राजधानी ढाकामा सम्पन्न गरेका थियौं । सो सम्मेलनमा सिविन नेपालको तर्फबाट म स्वयं, कानूनी सल्लाहकार सुवास नेम्वाङ्ग र एडभोकेसी एन्ड रिसर्च कोअर्डिनेटर रुपा धिताल सहितले भाग लिएका थियौं । उहाँले त्यस अवसरमा नेपालको तर्फबाट एक कार्यपत्र पनि प्रस्तुत गर्नु भएको थियो ।

६. १९९०-९४ । त्यतिञ्जेल सिविनले नेपालीमा बाल सरोकार र अंग्रेजीमा भ्वाइस अफ चिल्ड्रेन (Voice of Children) नामक नियमित संस्थागत प्रकाशन गर्ने गर्दथ्यो । एक सय अंकको प्रकाशन पछि पनि बाल सरोकारलाई हालसम्म पनि सिविनले निरन्तर गरिरहेको छ भने भ्वाइस अफ चिल्ड्रेनको ५०औं अंक पश्चात स्थगन गरिएको थियो । ती दुवै प्रकाशनहरुमा सुवास नेम्वाङ्गले वेलावखतमा बाल अधिकार र कानूनको विषयमा लेखहरु प्रदान गर्नुभुन्थ्यो र प्रकाशनको गुण-स्तर सुधारको समीक्षा बैठकहरुमा पनि उहाँले राम्रो सल्लाह-सुझाव दिने गर्नु हुन्थ्यो ।

७. डिसेम्बर १६-१७, २००६ । पुनर्स्थापित व्यवस्थापिका-संसदका सभामुख नेम्वाङले काठमाडौंंमा ग्लोबल मार्च अगेन्ष्ट चाइल्ड लेवर र सिविन-नेपालको संयुक्त तत्वाधानमा आयोजित बालश्रम निर्मुलन सम्वन्धी दक्षिण एशियाली रणनितिक सम्मेलनको उद्घाटन गर्दै बालश्रमको अन्त्य र बाल अधिकारको संरक्षण र सम्वर्द्धनको निम्ति दक्षिण एसियाली सरकारहरुले आफ्नो प्रतिवद्धता व्यवहारमा रुपान्तरण गर्नु पर्ने कुरा दरोका साथ राख्नु भएको थियो ।

८. नोभेम्बर २०, २००८ । संविधान सभाको अध्यक्षको रुपमा सुवास नेम्वाङ्गले सिविन हेल्प-लाइन बाट रुपान्तरित नेपाल सरकार र सिविन नेपालबाट संचालित बाल हेल्प लाइन, १०-९-८ को समुद्घाटन गरि नेपालमा आपत-विपत र जोखिममा परेका र संरक्षण गर्न परामर्श चाहने बालबालिकाहरु र सरोकारवालाहरुको निम्ति बाल हेल्प लाइनको स्थापना गर्न सहयोग प्रदान गर्नु भएको छ ।

९. जुन २००९ । संविधान सभा मार्फत संघिय गणतन्त्र नेपालको संविधान निर्माण हुँदै थियो । सबै वर्ग, तह र समुदायहरु संविधानमा आ-आफ्ना हक-अधिकारहरु स्थापित भएको हेर्न चाहन्थे ।

सोहि क्रममा बालबालिकाको हक-अधिकार संरक्षणार्थ, खासगरी संविधानमा बाल सहभागिताको निम्ति बाल अधिकार अभियानका विभिन्न संघ-संस्थाहरु दरो संग लागिरहेको थियो । सिविन-नेपालले ” नयाँ संविधानको निर्माण: बालअधिकारको पूर्ण सम्मान” नामक राष्ट्रिय अभियानको संयोजन गरिरहेको थियो ।

सो अभियानले देशका ७३९ वटा संघ-संस्थाहरुको साझा पहलमा देशभरीबाट १० लाख हस्ताक्षरहरु संकलन गरी संविधान सभामा बुझाएको थियो । सो अभियानको उद्घाटन गर्दै अध्यक्ष नेम्वाङले आफू बाल अधिकारको पक्षपाती रहेको र सिविन परिवारकै एक अभिन्न अङ्ग भएको बताउनु भएको थियो । “अब बन्ने नेपाली संविधानमा बालबालिकाको हक-हित स्थापना गर्न म हरमग्दुरले लाग्ने छु । तपाईहरु ढुक्क हुनुहोस् ।” भनेर भन्नू भएको थियो ।

१०. डिसेम्बर ९, २०१४ । बाल अधिकार, मानव अधिकार तथा सामाजिक न्याय र नागरिक अभियानमा निरन्तर सकृयताका साथ प्रतिवद्ध रहेको नाताले राष्ट्रिय मानव अधिकार अभियान मार्फत उहाँबाट मानव अधिकार सम्मान ग्रहण गर्ने जुन अवसर मिलेको थियो, त्यो मेरो लागि सुखद र गौरवपूर्ण अनुभुति भएको क्षण थियो । मैले त्यो क्षणमा उहाँप्रति हार्दिक आभार व्यक्त गरेको सम्झना अझै ताजा नै छ ।

साथसाथै सन् २००८-२०१५ को समयावधिमा जनताले आफ्नो सार्वभौम अधिकार प्रयोग गर्दै जनताबाट निर्वाचित प्रतिनिधिहरु मार्फत संविधान निर्माण गर्ने ऐतिहासिक संविधान सभाको अध्यक्ष सुवास नेम्वाङसंग सो क्रममा नागरिक अभियान, मानव अधिकार तथा बाल अधिकार अभियानको तर्फबाट अनेकन पटक भेट्घाट र बैठकहरु सम्पन्न गरेका थियौं ।

राष्ट्रिय मानव अधिकार आयोगको प्रतिनिधित्व गर्दै पनि उहाँसंग संविधान निर्माणको बेला बखत बैठक हुने गर्दथ्यो । बाल अधिकार र मानव अधिकारको विषयमा बेला-बखत सल्लाह-सुझाव माग्नु हुन्थ्यो । बाल अधिकारको दृष्टिकोणले नेपालको वर्तमान संविधान विश्वकै उत्कृष्ट संविधानमा पर्दछ ।

सो कार्यमा उहाँले जाहेर गर्नु भएको प्रतिवद्धता र पुर्‍याउनु भएको योगदान अतुलनिय छ । तर, संविधानमा उल्लेखित प्रावधानहरुलाई व्यवहारमा प्रभावकारी बनाउन देशले अझै धेरै कार्य गर्न बाँकी छ ।
उहाँसंगको मित्रता र सहकार्यका सम्झना योग्य अन्य धेरै कुराहरु अझै बाँकी छन् । हाललाई यति नै ।
भाद्र २९, २०८०

प्रतिक्रिया दिनुहोस्