२०८२ कार्तिक २

निजी विद्यालयका शिक्षक र उनीहरूको सङ्घर्ष

रश्मि खत्री 

शिक्षा राष्ट्र निर्माणको मेरुदण्ड हो भन्ने भनाइ हामीले सानो उमेरदेखि सुन्दै आएका हौँ। यस मेरुदण्डलाई मजबुत बनाउने मुख्य आधार शिक्षक हुन्। तर विडम्बनापूर्ण कुरा के छ भने, आज पनि हजारौं शिक्षकहरू खासगरी निजी विद्यालयहरूमा कार्यरत शिक्षकहरू दैनिक जीवनयापनका लागि कठोर सङ्घर्ष गरिरहेका छन्।

निजी विद्यालयहरू देशभरि छरिएका छन् र शिक्षाको क्षेत्रमा ठूलो भूमिका निर्वाह गरिरहेका छन्। आधुनिक पठनपाठन प्रणाली, प्रतिस्पर्धात्मक वातावरण, र अभिभावकको आकर्षणका हिसाबले निजी विद्यालयहरू लोकप्रिय छन्। तर यो चम्किलो आवरणभित्र शिक्षकहरूको यथार्थ जीवन निकै पीडादायक छ।
“हामी हरेक दिन अरूका बच्चाहरुको भविष्य ज्ञानको ज्योति छरि उज्यालो बनाउँछौं ,तर आफ्ना सपना भने दिन-प्रतिदिन धमिलिँदै गएका छन् ।”म आफैं पनि एक निजी विद्यालयमा कार्यरत शिक्षक हुँ । यो म जस्तै हजारौं शिक्षकहरुको बुलन्द आवाज उजागर भई रहेको छ। चाहे तालि आओस् या गाली ।हुन त शिक्षक पेशा अपजसे पेशा पनि हो । यहाँ तितो तर सत्य कुरा उजागर भएका छन्।

निजी विद्यालयमा पढाउने भने पछि धेरैले मलाई ‘स्मार्ट’, ‘इंग्लिस बोल्ने’, भनेर हेर्छन्। तर कसैले पनि कहिल्यै सोध्दैन कि,
“तपाईंको जीवनमा के चलिरहेको  छ? तपाईंको भोलि कस्तो देखिन्छ?” हामी शिक्षक हौँ, तर मानव भन्दा कम व्यवहार पाइरहेका छौँ। बिहानको ६ बजेदेखि साँझको ५ बजेसम्मको ‘फूल टाइम’ जागिर। तर पारिश्रमिक भने उहीँ नुन नलाग्ने खल्लो तरकारी जस्तो। बिदा लिँदा जति कुरा सहनुपर्छ, त्यति त सरकारले लिएको ऋण पनि चर्को हुँदैन होला। स्कुलमा बच्चाहरुलाई सम्झाइरहन्छौँ। ‘Respect your teacher.’
घर फर्किंदा समाजले सोध्छ : “ए त्यही  विद्यालयको यत्तिमा काम गर्ने शिक्षक?” शिक्षक हुनुको पीडा त्यो हो, जुन हाम्रो अनुहारमा लेखिँदैन, हाम्रो मौनतामा सड्छ। स्कुलको भवन महँगो हुन्छ, भित्ता रंगीन हुन्छ, टायल लागेका फ्लोर, फूल AC र फ्यान जडित कोठा। तर त्यही कोठाभित्र शिक्षकको मन भने चिसो, रित्तो र थकित हुन्छ। फिस नतिर्ने अभिभावकले ‘शिक्षकले राम्ररी पढाएन’ भन्छन् र फिस तिरे पनि शिक्षकलाई तलब कति दिने भनेर सोच्दैनन्। त्यसैगरी सम्पूर्ण अतिरिक्त क्रियाकलाप अन्तर्गत शिक्षकको नाममा सबै काम सुम्पिने, तर श्रेय भने सञ्चालकको हातमा।  शिक्षकले कहिले न्याय पाउँछ?
मुख्य समस्याहरू :
‌कम पारिश्रमिक:
निजी विद्यालयका शिक्षकहरूले गर्ने श्रम र जिम्मेवारीअनुसार तलब अत्यन्तै न्यून हुन्छ। कतिपय शिक्षकहरूले न्यूनतम ज्यालाभन्दा पनि कम रकममा काम गरिरहेका छन्। उच्च शिक्षित र अनुभवी शिक्षकहरूलाई समेत जीउधारि पारिश्रमिक दिइन्छ।

‌कामको चाप:
निजी विद्यालयमा पढाउने मात्र होइन, अतिरिक्त क्रियाकलाप, रिपोर्ट लेख्ने, अभिभावकसँग मासिक र आवश्यकता अनुरुप संवाद गर्ने,विविध गतिविधिको दैनिक अभिलेख राख्ने,आंशिक तथा मासिक बैठक बस्ने, लगायतका धेरै कार्य गर्नुपर्ने हुन्छ। यति धेरै कामको बोझ हुँदाहुँदै पनि शिक्षकहरूको हक अधिकारमाथि कहिल्यै ध्यान दिइँदैन। जसका कारण झनै शिक्षकहरुको आत्मसम्मानमा गहिरो चोट लागि मानसिक रुपमा पनि प्रभाव पर्दछ।

‌नोकरीको अस्थिरता:
निजी विद्यालयहरूमा प्रायः स्थायी नियुक्ति हुँदैन। वार्षिक करार, मूल्याङ्कनको आधारमा पुनः नियुक्ति, र कहिलेकाहीँ मनपर्दा – नपर्दा शिक्षक हटाउने प्रवृत्तिले असुरक्षित वातावरण बनाएको छ। यतिमात्र नभै विद्यार्थीको अनुशासन ,शैक्षिक स्थिति र विद्यालयमा विषयगत रुपमा शैक्षणिक त्रुटि हुन पुगेमा विद्यालय व्यवस्थापन र सञ्चालक समिति पछि हटेर शिक्षक स्वयमलाई जिम्मेवार ठहर गरि स्वत: निष्कासित हुन बाध्य बनाईन्छ।
‌श्रम अधिकारको अभाव:
श्रम कानुनको स्पष्ट पालना नहुनु, बीमा सुविधा नहुनु, बिदाको अधिकार नपाउनुजस्ता समस्याले निजी शिक्षकहरूको अवस्था अझ दयनीय बनाएको छ।

वास्तवमा, निजी विद्यालय शिक्षालय हैन, ब्यवसाय बनेको छ। सञ्चालकलाई शिक्षक ‘कर्मचारी’ हैन, ‘उपकरण’ लाग्छ।शिक्षकको मनोबल होइन, स्कुलको रेटिङ बढाउने होड मात्र हेरिन्छ। शिक्षकको बोलीभन्दा बढी उसले कति बच्चा पास गरायो भन्ने आँकडा हेर्ने प्रवृत्ति।  अब हामी किन मौन रहने?
हामी शिक्षक हौँ। चुप लाग्नुपर्छ भन्ने बाध्यता छैन।
हाम्रो श्रमको मूल्य चाहिन्छ। हामीलाई पनि हाम्रो शैक्षिक सम्मान चाहिन्छ। हामी के चाहन्छौँ ?
‌न्यूनतम पारिश्रमिकको कानुनी ग्यारेन्टी — कम्तीमा बाँच्न सक्नेजति तलब होस्।
‌कर्मचारीको हैसियत – हक, सुविधा र सामाजिक सुरक्षासहित।
‌शिक्षकको आवाजप्रति सम्मान न कि, बोल्दा जागिर गुम्ने हैन, सुनुवाइ हुने वातावरण बनोस्।
‌नियमित तलब, बिमा, र स्थायीत्वको आधार।

सकारात्मक परिवर्तनका उपायहरू:
‌निजी शिक्षकहरूको न्यूनतम पारिश्रमिक निर्धारण गरी सरकारले कडाइका साथ लागू गर्नुपर्छ।
‌शिक्षकहरूको सामाजिक सुरक्षाको सुनिश्चितता हुनुपर्छ;-
जस्तै: स्वास्थ्य बिमा, पेन्सन/बोनस  मातृत्व/पितृत्व बिदा।
‌शिक्षक संगठनहरूलाई सशक्त बनाइ निजि विद्यालयहरूलाई श्रम ऐनको दायरामा ल्याउनुपर्छ।
‌अभिभावक, सञ्चालक, र सरकारबीच पारदर्शिता र उत्तरदायित्वको वातावरण बनाउन जरुरी छ।
‌राम्रो काम गर्ने शिक्षकलाई प्रशंसनीय सम्मान गर्दै कदरयोग्य रुपमा हौसला प्रदान वा मनोवल वृद्धिका लागि पुरस्कृत गर्नु पर्दछ।
‌वार्षिक तथा अध्यावधि वर्ष भित्र शिक्षकको पारिश्रमिक वृद्धि  स्तरोन्नति हुनुपर्छ ।
‌शिक्षक एक मानव हो  न कि मेसिन । उसको मानसिक र शारीरिक अवस्था अनुरुप काम प्रदान गरिनु पर्दछ।यदि ६ घण्टा भन्दा बढी काम भएमा वा गराएमा अतिरिक्त समय हिसाब गरि मासिक तलबमा वृद्धि गर्नुपर्छ।

निष्कर्ष:
निजी विद्यालयहरू देशको शिक्षाक्षेत्रको अभिन्न हिस्सा हुन् भने तिनीहरूमा कार्यरत शिक्षकहरू त्यो प्रणालीका धुरी हुन्। उनीहरूको श्रमको कदर नगरी शिक्षाको गुणस्तरमा सुधार आउन सक्दैन। शिक्षा प्रणालीको सुधार शिक्षकमैत्री नीति बिना सम्भव छैन तसर्थ अब समय आएको छ।

प्रतिक्रिया दिनुहोस्