२०८२ श्रावण १५

वर्तमान सरकार गणतन्त्रपछिको सबैभन्दा असफल, विचारहीन र दिशाविहीन सरकार हो, पूर्वसभामुख सापकोटा

सिन्धुपाल्चोक — नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा पूर्वसभामुख अग्नि प्रसाद सापकोटाले हालको सरकारप्रति कडा आलोचना गरेका छन्। उनले गणतन्त्र स्थापनापछिका सरकारहरू मध्ये अहिलेको सरकार सबैभन्दा “निकम्मा, विचारविहीन र चेतनाहीन” भएको आरोप लगाए।

चौतारा साँगाचोकगढी नगरपालिका–चौतारामा आयोजित पार्टी स्कुल विभागको प्रशिक्षक प्रशिक्षण कार्यक्रममा बोल्दै सापकोटाले राज्यका सबै अंगहरू हाल “प्यारालाईज” अवस्थामा रहेको टिप्पणी गरे।

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख पदमा स्वयंमाथि मुद्दा लागेका व्यक्ति नियुक्त हुनुले नियोजित रूपमा राज्य संयन्त्रलाई कमजोर बनाइएको पुष्टि गर्ने दाबी गरे। सापकोटाले न्यायालयप्रति जनविश्वास घट्दै गएको भन्दै त्यहाँ रहेका मूल्य र मान्यतामाथि गम्भीर प्रश्न उठाए।

हालै संसदमा बहसमा आएको ‘कुलिङ पिरियड’को मुद्दालाई उनले ‘राजनीतिक जालसाजी’को संज्ञा दिए। संसदभित्र हुने अव्यवस्थित र असंयमित व्यवहार, आरोप–प्रत्यारोपले अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि धमिलिएको उनको भनाइ थियो।

कार्यक्रममा उनले पार्टी कार्यकर्तालाई समसामयिक राजनीतिक अवस्था बुझ्न र जनतासँगको सम्बन्ध बलियो बनाउन आह्वान गरे।

प्रतिक्रिया दिनुहोस्