२०८१ श्रावण १२
                           

धन्‍न यत्ति खेल्याे नेपाल !

जियो रंगशालामा हजारौंको संख्यामा रहेका नेपालीले पूरा समय ‘नेपाल…नेपाल’को नारा घन्काइरहे। चन्द्र सूर्यको झण्डा पूरा समय रंगशालामा फहरिइरहयो। हल्का फुसफुसे वर्षाले क्यानबेराको मौसम झनै चिस्याए पनि नेपाली समर्थकको उत्साहजनक उपस्थिती र अथक हौसलाले ९० मिनेट रंगशाला ततायो। तर इन्डोनेसियाका मुख्य रेफ्री थोरिक मुनिर अल्कातिरीले अन्तिम सिठी फुक्दा नेपाली समर्थकको उत्साह १२ डिग्रीमा सितांगै भयो।

Australia VS Nepal 1

कतारमा तीन वर्षपछि हुने विश्वकप २०२२ तथा त्यसको एक वर्षपछि चीनमा हुने एएफसी एसियन कप २०२३ को छनोटअन्तर्गत दोस्रो चरणको खेलमा घरेलु टोली अस्ट्रेलियासँग अंक लिने नेपालको योजना सफल भएन। मेलबर्न सिटीका फरवार्ड जेमी म्याक्लरेनको ह्याट्रिकप्रेरित अस्ट्रेलियाले ५–० को नतिजामा खेल आफ्नो पक्षमा पार्‍याे।

Australia VS Nepal 1

छैटौं मिनेटमा क्रायग गुडविनले पेनाल्टी बक्सबाहिरबाट हानेको प्रहार नेपालका गाेलकिपर किरण चेम्जोङले बचाए पनि राम्रोसँग नियन्त्रणमा लिन नसक्दा रिबाउन्डमा प्राप्त बललाई जेमी म्याक्कलरेनले कुनै गल्ती नगरी गोलमा परिणत गरेका थिए। सुरुबाटै आफ्नै हाफमा मात्र खेलेको नेपालले १९औं मिनेटमा अर्को गोल खायो।

अजिज बेहिजले बाँया भागबाट गरेको क्रसलाई रायन बर्ट ग्रान्टले हेडमार्फत मिलाइदिएको पासमा म्याक्लरेनले पनि हेडमार्फत गोल गरेका थिए। त्यसको ५ मिनेट बित्न नपाउँदै अस्ट्रेलियाले अर्को गोल थप्यो। गुडविनको कर्नरमा ह्यारी साउटरले हेडमार्फत गोल गरेका थिए। अन्तर्राष्ट्रिय खेलमा साउटरको यो डेब्यू खेल थियो।

Australia VS Nepal 1

पहिलो हाफमा अस्ट्रेलियाका गोलकिपर म्याथ्यु रायन फुर्सदमा रहे। नेपालले अस्ट्रेलियाको पोष्टमा एउटा प्रहार पनि गर्न सकेन। पहिलो हाफको अन्तिम मिनेटमा अस्ट्रेलियाका म्याथ्यु लेकीले अर्को गोल थपेका थिए। तर रेफ्रीले उक्त गोललाई अफसाइड करार गरिदिएका थिए।

दोस्रो हाफमा केही खुलेर खेल्न खोजेको नेपालले ५९औं मिनेटमा अर्को गोल खायो। नेपालका गोलकिपर तथा दुई रक्षक अनन्त तामाङ र दिनेश राजवंशीबीच तालमेल नहुँदा अस्ट्रेलियाका एरोन मोएको पासमा साउटरको प्रहार गोलमा परिणत भएको थियो। त्यसअघि मोएकै पासमा गुडविनले पेनाल्टी बक्सबाट गरेको हेड नेपाली गोलकिपर किरणले उत्कृष्ट बचाउ गरेका थिए।

दोस्रो हाफमा अस्ट्रेलियाका प्रशिक्षक ग्राहम आर्नोल्डले आफ्ना मुख्य खेलाडीलाई आराम दिएका थिए। तथापी नेपालले अस्ट्रेलियाको पोष्टका एक पटक पनि धावा बोल्न सकेन। दोस्रो हाफमा अस्ट्रेलियाका रक्षापंक्त केही ब्यस्त बने पनि नेपाली फरवार्डले त्यसलाई छिचोल्न भने सकेन। अन्तिम मिनेटमा ज्याक्सन इर्भिनले मिलाइदिएको पासमा म्याक्लरेनले ह्याट्रिक पूरा गरे।

यो जितसँगै अस्ट्रेलिया ६ अंकका साथ समूह ‘बी’ को शीर्ष स्थानमा उक्लिएको छ। नेपाल भने ३ अंकका साथ पुछारबाट दोस्रो स्थानमा कायम छ। कुवेत र जोर्डन समान तीन अंकका साथ दोस्रो तथा तेस्रो स्थानमा छन्।

अस्ट्रेलियाले यसअघि आफ्नो पहिलो खेलमा कुवेतलाई ३-० को नतिजामा हराएको थियो। तीन खेल खेलिसकेको नेपाल भने पहिलो खेलमा कुवेतसँग ७-० ले पराजित भएको थियो भने चाइनिज ताइपेईविरुद्धको अवे खेलमा नेपालले २–० को विजयी नतिजा निकालेको थियो। नेपाललाई तीन अंक दिलाउन चाइनिज ताइपेईविरुद्ध दुवै गोल अञ्‍जन बिष्टले गरेका थिए।

ओसियानाबाट छनोट भएर विश्वकप खेल्न अस्ट्रेलियालाई सहज थिएन। त्यसैले ३२ वर्षपछि सन २००६ को विश्वकपलाई छानिनुअघि नियमित रुपमा विश्‍व फुटबलको सबभन्दा ठूलो मेलामा नियमित उपस्थिति जनाउन अस्ट्रेलियाले एउटा उपाय निकालेको थियो, एएफसीको सदस्यता लिने। अस्ट्रेलियाको त्यो उपायलाई एसियाली फुटबल महासंघ (एएफसी) र विश्व फुटबल महासंघ (फिफा)ले २००६ को जनवरीमा लालमोहर लगाइदिए। अर्थात, एसियाली देश नभए पनि एएफसीको सदस्यताका लागि अस्ट्रेलियाको आवेदन स्वीकृत भयो।

अस्ट्रेलियाको महादेश ओसियानाभन्दा एएफसीबाट विश्वकपका लागि छानिन सजिलाे थियो। ओसियानाले विश्वकपको लागि एउटा पनि कोटा पाउँदैन। दक्षिण अमेरिकाबाट आउने पाँचौ टिमसँग अन्तर्राष्ट्रिय प्लेअफ खेलेरमात्र ओसियानाको टिमले विश्वकप खेल्न पाउँछ। तर एसियाबाट चार टिम सोझै तथा पाँचौ हुनेले पनि प्लेअफको मौका पाउने भएकाले अस्ट्रेलियाजस्तो स्तरीय टिमको सम्भावना बढी हुन्थ्यो।

Australia VS Nepal 1

विश्वकप खेल्न त्यही सहजताका लागि एएफसी छिरेको अस्ट्रेलियासँग नेपालले भने पहिलो पटक खेल्ने मौका पाएको थियो। तर अष्ट्रेलियाले पूरा ९० मिनेट नेपाललाई दवावमा राख्यो। कुनै पनि समय दवावमा नखेलेको अस्ट्रेलियाले घरेलु मैदानमा भएको पहिलो खेलमा सहजै तीन अंक जोड्न सफल भयो। अस्ट्रेलियाले अब मंगलबार चाइनिज ताइपेईविद्ध खेल्नेछ भने नेपालले बुधबार जोर्डनविरुद्ध खेल्नेछ।

बिहीबार साँझ नेपालले जिआइओ रंगशालाबाट ठूलो नतिजा अपेक्षा गरेको पनि थिएन। त्यसैले नेपाली राष्ट्रिय टोलीका स्विडिस प्रशिक्षक योहान कालिनलाई यो हारले धेरै दुःखी बनाएन। नतिजा निराशाजनक भए पनि अपेक्षित नै थियो, सायद। उनी भन्दै थिए, ‘सुरुको २५ मिनेट हाम्रो लागि धेरै गाह्रो भयो। पहिलो गोल जसरी खायौं त्यो हाम्रो लागी दुर्भाग्य रह्यो। तथापी दोस्रो हाफमा हामीले केही सुधार गर्यौं। अस्ट्रेलिया हामीभन्दा धेरै माथिको टिम हो। शारिरीक रुपमा पनि उनीहरु धेरै बलियो थियो। हामीले आफ्नो क्षमताअनुसार राम्रो खेल्ने प्रयास गर्‍याै‌ं। आगामी दिनमा राम्रो सुधार गर्ने छौं।’

कालिनले भनेजस्तै अस्ट्रेलियाका मुख्य प्रशिक्षक आर्नोल्ड पनि फिफा वरियताको १ सय ६१ औं स्थानमा रहेको भ्रमणकारी विपक्षीमाथि सहज जित निकाल्नेमा खेल अघिदेखि नै आत्मविश्वासी थिए। फिफा वरियताको ४४औं स्थानमा रहेको अस्ट्रेलियाका प्रशिक्षकले भने, ‘प्रदर्शनबाट म खुसी छु। कुवेतविरुद्धको खेलपछि हामीले केही परिवर्तन गर्‍याैं। त्यसमा हामी सफल भयौं। हामी अझै फराकिलो जित चाहन्थ्यौं। घरेलु मैदानमा हामीले ठूलो जितको लागि राम्रो अवसर पाएका थियौं। तर त्यसको उपयोग गर्न सकेनौं। तथापि तीन अंकबाट हामी खुसी छौं।’

Australia VS Nepal 1

इङ्लिस प्रिमियर लिगसहित युरोपका शीर्ष लिगहरुमा खेल्ने खेलाडीको बाहुल्य रहेको अस्ट्रेलिया र घरमै पनि वर्षौदेखि लिग खेल्न नपाएका खेलाडीको टोलीबीच यो अपेक्षित नतिजा थियो। सिड्नीदेखि खेल हेर्नकै लागि क्यानबेरा आएका नेपाली समर्थक विजय ढकाल भन्दै थिए, ‘फुटबल खेल्न एउटा घरेलु मैदान समेत नभएको देशबाट आएका खेलाडीले धन्‍न यत्ति खेले। न खेल्ने ठाउँ छ, न खेल्ने प्रतियोगिता छ। अनि कसरी अस्ट्रेलियाजस्तो टिमसँग जित निकाल्नु?’

प्रतिक्रिया दिनुहोस्