२०८२ कार्तिक २

पानीको बहाव बढ्ने सम्भावना, २७ जिल्लालाई बाढी पूर्वानुमान महाशाखाबाट एल्लो अलर्ट

सिन्धुपाल्चोक | जल तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाले आजका लागि २७ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको भन्दै ‘एल्लो अलर्ट’ जारी गरेको छ।

सिन्धुपाल्चोकसहित ताप्लेजुङ, संखुवासभा, दोलखा, रामेछाप, तेह्रथुम र सोलुखुम्बु लगायतका हिमाली तथा पहाडी जिल्लाहरूबाट बहने साना खोलानालामा पानीको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने र आकस्मिक बाढी आउन सक्ने सम्भावना देखिएको छ।

महाशाखाका अनुसार हाल प्रमुख नदीहरू—कोसी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी र पश्चिम राप्ती, बबई र कन्काई—को जलस्तर सतर्कता तहभन्दा तल भए पनि तीमध्ये केहीमा पानीको बहाव बढ्न सक्ने सम्भावना रहेको बताइएको छ।

इलाम, झापा, मोरङ, पाँचथर, धनकुटा, खोटाङ, ओखलढुंगा, काभ्रे, काठमाडौँ उपत्यका, रसुवा, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, रुकुम पूर्व लगायत जिल्लामा समेत बाढीको जोखिम मध्यम दरमा रहेको महाशाखाले जनाएको छ।

खोला किनार, नदी छेउ तथा बाढीसम्भावित क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। आवश्यक परेमा सुरक्षित स्थानमा सर्न पनि महाशाखाले सुझाव दिएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्