२०८२ कार्तिक २

सिन्धुपाल्चोक जिल्ला अदालतको मुद्दा फर्छ्यौट दरमा उल्लेखनीय सुधार

चौतारा, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्ला अदालतले न्याय सम्पादन र सेवा प्रवाहमा उल्लेखनीय सुधार गर्दै आर्थिक वर्ष  २०८१/८२ मा महत्वपूर्ण प्रगति हासिल गरेको छ। अदालतले सार्वजनिक गरेको प्रतिवेदन अनुसार यस आ.वमा कुल १०५५ वटा मुद्दा मध्ये ८५५ वटा मुद्दा फर्छ्यौट गरिएको छ भने २०० वटा अझै बाँकी छन्।

आर्थिक वर्ष २०८०/०८१ मा  ७३.०३ प्रतिशत रहेको मुद्दा फर्छ्यौट दर यस आ.व २०८१/०८२ मा ८१.०४  प्रतिशतमा पुगेको छ, जुन अदालतको कार्यसम्पादनमा देखिएको सकारात्मक संकेतको रूपमा लिइएको छ। यस अतिरिक्त वार्षिक कार्ययोजनाले राखेको लक्ष्य अनुसार २ वर्षे, १८ महिना नाघेका र बालबालिका प्रतिवादी मुद्दाहरू शुन्य छ भने १ वर्ष नाघेका मुद्दा संख्या जम्मा ११ थान रहेको छ।

अदालतको प्रतिवेदन अनुसार जम्मा जरिवानाको लगत ८० करोड ९८ लाख ७७ हजार ६ सय ४२ रहेकोमा ७ करोड ६९ लाख ३९ हजार ६ सय ४३ अर्थात जम्मा ९.५ प्रतिशत असुल गरिएको छ। जरिवानाको ठूलो हिस्सा विदेशी नागरिकबाट असुल गर्नुपर्ने भएकाले त्यसको उठानमा चुनौती उत्पन्न भएको अदालतले जनाएको छ।

अदालतले निष्पक्ष, छरितो र सर्वसुलभ न्याय प्रदान गर्ने आफ्नो लक्ष्यप्रति प्रतिवद्धता जनाउँदै ती समस्या समाधानका उपायहरू अवलम्बन गर्दै अघि बढिरहेको जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्