चौतारा, सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयमा अपांगमैत्री संरचनाको अभावका कारण शारीरिक, दृष्टि तथा श्रवण अपांगता भएका व्यक्तिहरू सरकारी सेवा प्राप्तिमा गम्भीर कठिनाइ भोगिरहेका छन्। कार्यालयमा न ह्वीलचेयर प्रवेशद्वारको व्यवस्था छ, न अपांगमैत्री शौचालय, न त दृष्टिविहीनहरूका लागि ब्रेल संकेत वा श्रवण सहयोग संकेत प्रणाली। यस्ता पूर्वाधारको अभावले सेवामा समान पहुँचको अधिकार कुण्ठित भइरहेको छ।
कार्यालयमा न व्हीलचेयर पहुँचको व्यवस्था छ, न त अपांगमैत्री शौचालय, न त सहायक संकेत, न सूचना बोर्ड। कार्यलय सिँढीमात्रै भएकाले ह्वीलचेयर प्रयोगकर्ताहरूले कार्यालयभित्र प्रवेश गर्न र सेवा लिन कठिनाइ भोग्नु पर्ने बाध्यता रहेको छ।
चौताराका एक व्हीलचेयर प्रयोगकर्ताले भने,”हामी सरकारी सेवा लिन जानु नै अपमान सहनु सरह हुन्छ। समान सेवा र पहुँच सबैको अधिकार हो, तर त्यो अधिकार प्रयोग गर्ने क्रममा हरेकचोटी अपमान र असहजता सहनुपर्छ।”
दृष्टिविहीन र अशक्त व्यक्तिहरूको आवश्यकतालाई सम्बोधन गर्ने कुनै सूचना बोर्ड, ब्रेल अक्षर, वा सहयोगी गाइड प्रणाली कार्यालयमा नरहेको पाइएको छ। यस्तो अवस्था संविधानले प्रत्याभूत गरेको समावेशी सेवाको मर्मविपरीत रहेको अपांगता क्षेत्रमा कार्यरत संघसंस्था तथा मानव अधिकारकर्मीहरू बताउँछन्।
संविधानको धारा ४२ अनुसार, अपांग व्यक्तिहरूलाई राज्यको प्रत्येक सेवा र सुविधा समान रूपमा उपलब्ध गराउनु पर्ने स्पष्ट व्यवस्था भए तापनि व्यवहारिक कार्यान्वयन अझै अलमलमा छ। सरोकारवाला निकायहरूले यथाशीघ्र अपांगमैत्री पूर्वाधार निर्माण गर्दै सबै नागरिकलाई सेवा पहुँचमा ल्याउन आवश्यक रहेको देखिन्छ।
समाधान के?
विशेष पहुँच संरचना (र्याम्प, अपांगमैत्री शौचालय, सूचना संकेतहरू), अपांग सहयोगी काउण्टर, कर्मचारीहरूको अपांगता मैत्री व्यवहार सम्बन्धी तालिम र प्रविधिमैत्री उपायहरू अब ढिलो नगरी लागू गर्नु आजको आवश्यकता हो।
प्रतिक्रिया दिनुहोस्