२०८२ श्रावण १६

गुफाडाँडालाई पर्यटकीय हव बनाउन ४ करोड बजेट, सम्पादक समाजको पदयात्रा

गुफाडाँडा (मेलम्ची) – मेलम्ची नगरपालिका अवस्थित पर्यटकीय सम्भावनाले भरिपूर्ण गुफाडाँडामा ‘सम्पादक समाज नेपाल’का सदस्यहरू पदयात्रा गर्दै पुगेका छन्। गुफाडाँडाको पर्यटकीय प्रवर्द्धन र जलवायु परिवर्तनको असर न्यूनीकरण सम्बन्धमा चेतना फैलाउने उद्देश्यसहित एक दिवसीय पदयात्रा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रम मेलम्ची नगरपालिका र सम्पादक समाज नेपालको संयुक्त आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा देशभरका छापा, विद्युतीय, अनलाइन तथा रेडियो सञ्चारमाध्यममा संलग्न सम्पादक र पत्रकारहरूको उल्लेखनीय सहभागिता थियो।

मेलम्ची बजारबाट सुरु भएको पदयात्रा गुफाडाँडासम्म पुर्‍याइएको थियो। पदयात्रा पश्चात क्यौलेठाना आधारभूत विद्यालय र वडा कार्यालयको संयोजनमा झाँकी, फूलमाला सहित सञ्चारकर्मीहरूको स्वागत गरिएको थियो। त्यसपछि आयोजित अन्तरक्रिया कार्यक्रममा वातावरण संरक्षण र सञ्चारकर्मीहरूको भूमिकामाथि छलफल भयो।

कार्यक्रममा पत्रकारहरूले मेलम्ची नगरप्रमुख आईतमान तामाङसँग गुफाडाँडाको पूर्वाधार विकास, मेलम्चीको पुनःस्थापना र पुनर्निर्माणमा भएको ढिलाइबारे प्रश्न गरेका थिए। जवाफमा नगरप्रमुख तामाङले संघ र प्रदेश सरकारबाट प्राप्त प्रतिबद्धता कार्यान्वयन नहुँदा कार्यहरू प्रभावित भएको बताए।

उनले गुफाडाँडालाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले नगरपालिका तहबाटै ४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिए। जसमा २ करोड गुफाडाँडा सडक पूर्वाधार सुधारका लागि र अन्य २ करोड जलवायु केन्द्र, बुद्धको मूर्ति, संग्रहालय जस्ता संरचना निर्माणमा खर्च हुने बताए। छिट्टै टेन्डर प्रक्रिया सुरु भई काम अगाडि बढ्ने पनि उनले जनाए।

कार्यक्रममा सम्पादक समाज नेपालका महासचिव र नेपाल पत्रकार महासंघ, सिन्धुपाल्चोकका अध्यक्ष ध्रुव दंगालले गुफाडाँडाको पर्यटन विकास सबैको साझा दायित्व भएको बताए। स्थानीय स्रोतसाधनको उपयोग गरी पर्यटनबाट आम्दानी वृद्धि गर्न सकिने र स्थानीय उत्पादनलाई राष्ट्रिय बजारमा प्रवर्द्धन गर्न सकिने उनीहरूको भनाइ थियो।

गौरतलब छ, सन् २०७७ मा तत्कालीन जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको आयोजनामा गुफाडाँडामा आयोजित प्रथम जलवायु सम्मेलनपछि यस क्षेत्रको चर्चा सुरु भएको हो। त्यही सम्मेलनमा जलवायु सम्बन्धी १० बुँदे घोषणापत्र समेत जारी गरिएको थियो।

हाल गुफाडाँडामा पृथ्वी बोकेको मान्छेको प्रतिमा, ७७ वटै जिल्लाको नाम, नेपालको राष्ट्रिय झण्डा, भ्यू टावरजस्ता संरचनाहरू निर्माण भइसकेका छन्। आगामी दिनमा थप पूर्वाधार विकास गरी गुफाडाँडालाई प्रमुख पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्ने लक्ष्य नगरपालिकाले लिएको छ।

प्रतिक्रिया दिनुहोस्