२०८२ आश्विन १९

विकास गाँउ पस्यो, युवा बिदेश !!

कृष्ण प्रसाद धिताल (धिताल चिरिच्याँट्ट)

नेपालमा संघिय गणतन्त्रको आगमन संग संगै गाँउगाँउमा अहिले बाटोहरु पुगेका छन । खानेपानीका धाराहरु घर घरमा जोडिएका छन । इन्टरनेटको पहुँच नेपालका अधिकाँश ठाँउहरुमा पुगेको छ । नेपालमा विकासको स्वरुप बिगत १५, २० बर्षमा ब्यापक रुपमा अगाडी बढेको देखिन्छ । तर बिकास संगै निकै पेचिलो र बिडम्बना पनि  संग संगै जोडिएर आएको छ । गाँउहरु खाली हुदै गएका छन । खेतका फाँटहरु बाँझिदै गएका छन । घरहरु ढल्दै गएका छन, अनि युवाहरु जो देश  सम्बृद्धिको नायक बन्नुपथ्र्यो उनीहरु गाँउबाट शहर,शहरबाट बिदेश पलायन भैरहेका छन । हरेक दिन सयौको संख्यामा त्रिभुवन बिमानस्थलबाट हजारौ सपनाहरु बोकेर नेपाली जनशतिm परदेश बनाउन जाहाज चढिरहेका छन ।  हरेक बर्ष लाखौ संख्यामा युवा बिदेशीनु केवल रोजगारीको खोजी मात्रै हैन । देशप्रति निराशाको प्रमाण पनि हो ।  शिक्षित युवाले स्वदेशमा आफनो क्षमता अनुसारको काम पाउदैनन । ग्रामिण क्षेत्रमा अझै पनि शिक्षाको गुणस्तरमा बृद्धि हुन सकेको छैन । सिपमुलक तालिमहरुको पहुँच न्युन छ । स्थानिय सरकारले उनीहरुलाई योजना निमार्ण वा रोजगारी सिर्जनामा अझै प्रभावकारी हिसावमा समाबेश गराउन सकेका छैनन ।
अर्को तर्फ कृषि प्रणाली अलपत्र अबस्थामा छ ।  कृषिमा लगानी र नवप्रवर्तनको अभावले गर्दा युवाहरुलाई खेतीपातीमा भन्दा बिदेशी मेहेनतमा आकर्षण छ । यिनै कारणले गर्दा गाँउका होनाहार युवाहरु सहर हुदै, हुदा खानेहरु खाडीका मरुभुमिहरुमा र हुनेखानेहरु युरोप अमेरिका पसिरहेका छन ।
गाँउ आजकल केवल बालबालिका ,महिला र बृद्धबृद्धाको थलो बनेको छ । कतिपय पहाडी गाँउहरु   प्राय सुनसान जस्तै भएका छन केहि बर्ष अघिमात्र दोलखा,रुकुम,भोजपुर,अछाम लगायतका गाँउहरुबाट हजारौ मानिसहरु बैदेशिक रोजगारीका लागि गएका तथ्यहरु सरकारी तथा गैरसरकारी संस्थाहरुको अध्ययनले देखाएको थियो । दुखत त के हो भने विकासको नाममा आएका सडकले उत्पादन भन्दा बढि पलायन बढाएको छ । गाडी चढेर गाँउ बाहिरिनेहरु त फकिदैनन , फर्किनेहरुले पनि गाँउमा लगानी गर्ने प्रेरण पाउदैनन । विकास गाँउ पसेको छ । तर गाँउका सपनाहरु रि त्तिदै गएका छन ।
२०६२/६३ को जनअन्दोलन पछि नेपालमा संघिय शासन प्रणाली लागु भएसंगै स्थानिय तहलाई बजेट,योजना र कार्यान्यनको अधिकार दिइयो । गाँउपालिका/नगरपालिकाहरुले सडक,भवन,खानेपानी,स्वास्थ्य,बिजुली,इन्टरनेट लगायतका भौतिक पुर्वाधार निमार्णमा उल्लेखनिय प्रगति त गरे, तर प्रश्न उठछ के भौतिक पुर्वाधारले मात्र समृद्धि सम्भव छ ? के हामीले चाहेको बुझेको विकासको मर्म यहि हो ? विकास भनेको केवल कनक्रिटको संरचना मात्रै हो त ? विकास भनेको आम मानिसको जीवन स्तरमा सुधार,अवसरमा पहुँच र युवाहरुको आत्मसम्मानमा बृद्धि हो । तर स्थानिय सरकार,प्रदेश सरकार र संघिय सरकारले युवाहरुलाई रोजगार दिन सकेन । उनीहरुको उद्यमशीलताको कदर र पहिचान गर्न सकेन, र गाँउमै सम्मानजनक जीवनयापनको आधार सम्भावना देखाउन सकेन ।
२०७८ सालको जनगणना अनुसार शहरी जनसंख्या ६६.०८ प्रतिशत र ग्रामिण जनसंख्या  ३३.९२ प्रतिशत पुगेको छ । २०६८ जनगणनामा १७.०७ प्रतिशत शहर र ८२.९३ प्रतिशत मानिस ग्रामिण  जनसंख्या रहेको तथ्यांक आएको थियो ।  यो तथ्यांकले गाँउहरु रित्तिदै छन भन्ने कुराको संकेत गरिरहेको छ । यसरी दिनप्रतिदिन एक पछि अर्को गाँउहरु खाली हुने अबस्थाको अनत्यको लागि तिनै तहका सरकार जिम्मेवार हुनुपर्ने देखिन्छ । अहिले धेरथोरै गाँउमा रहेका युवा जनशक्ति धेरै जसो कृषि,पशुपालन,पर्यटन, हस्तकला तथा साना ब्यवसायमा संलग्न रहने क्षमता राख्दछन । तरत्यसको उपयोग हुन सकेको छैन ।  यसका समाधानका उपायहरु के हुन सक्छन त?
युवामैत्री निति ː युवा उद्यममा कर छुट, अनुदान,सस्तो कर्जा,तालिम
कृषिमा आधुनिकता ːपरम्परागत खेतीलाई ब्यावसायिक बनाउने,सहकारी र प्रविधीमैत्री बनाउने
स्थानिय रोजगारी सिर्जना ː गाँउ गाँउमा साना उद्योग,इको टुरिजम,सिपमुलक उद्यम प्रोत्साहन गर्न स्थानिय तहको अग्रसरता
शिक्षा र सिप ːगाँउमै प्राविधिक तालिम ,उद्यमशिलता कार्यक्रम
योजना निमार्णमा युवा सहभागिता ː स्थानिय योजनामा युवाको मत,सहभागिता,र नेतृत्व सुनिश्चिता
यी कुराहरुमा ध्यान दिन सकेमा हामीले युवा पलायनलाई रोक्न सक्ने परिस्थितीको सिर्जना हुन सक्थ्यो । विकास गाँउ पसेको छ, तर त्यो बिकासको संम्वाहक त्याँ छैन भने त्यो विकास अर्थहिन हुन्छ । राज्यले साँचो अर्थमा  देशको समृद्धि, विकास चाहेको हो भने विकाससंगै आम युवाहरुको आत्मा पनि गाँउमै राख्न सक्नुपर्छ र बाहिर रहेकाहरुको पनि फर्काउन सक्नुपर्छ । युवालाई देशमै अबसरका सम्भावनाहरु देखाईदिनु पर्छ । उनीहरुको क्षमता र श्रमलाई गाँउमै सदुपयोग गर्न सक्ने बाताबरण बनाईदिनु पर्छ ।
युवा जनशक्तिलाई स्वदेशमै राख्नका लागि निति,योजना ,सोचमा परिवर्तन गर्न सकिएन भने केहि बर्ष पछि गाँउको विकास त अझै राम्रो होला तर त्यो विकासलाई हेर्ने,भोग्ने र सम्हाल्ने मानिस कोहि पनि रहने छैनन ।

प्रतिक्रिया दिनुहोस्