सिन्धुपाल्चोक, बलेफी – सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा यस वर्षको एसईई परीक्षा उत्तीर्ण गरेका विद्यार्थीहरूलाई विशेष सम्मान गरिएको छ। प्रतिनिधिसभा क्षेत्र नम्बर १ तथा बागमती प्रदेशसभा सदस्यहरूको सचिवालयको संयुक्त आयोजनामा शनिबार आयोजना गरिएको कार्यक्रममा विद्यार्थीहरूलाई प्रमाणपत्रसहित सम्मान प्रदान गरिएको हो।
जिल्लाका १५४ वटा विद्यालयबाट ३,१७० जना विद्यार्थी सहभागी भएका एसईई परीक्षामा १,९९१ जना ग्रेडेड तथा १,१७९ जना ननग्रेडेड विद्यार्थी रहेका थिए। क्षेत्र नम्बर १ अन्तर्गत मात्रै ८९५ जना विद्यार्थीले ग्रेडेड हासिल गरेका छन्।
उल्लेखनीय रूपमा, बालशिक्षा मावि खाडिचौरका स्मृति नेपाल, म्हेन्दो तामाङ र शुभेच्छा श्रेष्ठ, प्रगति अंग्रेजी बोर्डिङ स्कुल मेलम्चीका प्रशान्त चालिसे तथा ज्ञानमन्दिर नमुना माविकी रोजिना स्याङ्ताङले ४.० जीपीए ल्याउँदै जिल्लामा उत्कृष्टता प्रदर्शन गरेका हुन्।
कार्यक्रममा बागमती प्रदेश सञ्चार रजिष्टार रेवती सापकोटा, गैसस महासंघका वरिष्ठ उपाध्यक्ष नानीमाया थापा, उपाध्यक्ष राजेन्द्रप्रसाद शर्मा, नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक अध्यक्ष ध्रुव दंगाल, सुकुटे पर्यटन व्यवसायी संघ अध्यक्ष महेन्द्र थापा तथा प्याब्सन सिन्धुपाल्चोक अध्यक्ष बुद्धिप्रसाद आचार्यलाई पनि सम्मान गरियो।
प्रतिनिधिसभा सदस्य माधव सापकोटा, प्रदेशसभा सदस्य सरल
सहयात्री पौडेल, अमृता नेपाल, जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्वो, लिसंखुपाखर गाउँपालिका अध्यक्ष राजु लामा, तथा बलेफी गाउँपालिका अध्यक्ष गंगा तामाङले कार्यक्रममा सहभागिता जनाउँदै विद्यार्थीहरूलाई बधाई तथा सफल शैक्षिक भविष्यको शुभकामना व्यक्त गरे।
कार्यक्रममा प्राध्यापक विष्णु ज्ञवालीले ‘आगामी शैक्षिक यात्रा’ विषयमा विशेष प्रेरणादायी प्रशिक्षण प्रदान गरेका थिए।
कार्यक्रम चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्णप्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न भएको हो।
प्रतिक्रिया दिनुहोस्