हेटौंडा – बागमती प्रदेशसभा सदस्य युवराज दुलालले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा टुक्रे योजनाहरूलाई अत्यधिक प्राथमिकता दिइएको भन्दै प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
प्रदेशसभा बैठकमा बोल्दै सांसद दुलालले विकासको नाममा साना र टुक्रे योजनालाई अगाडि बढाउँदा प्रदेशको दिगो समृद्धि सम्भव नहुने प्रष्ट पार्दै आफ्नो असहमति जनाएका छन्। उनले सरकार विकासका प्राथमिकता र स्रोतको न्यायोचित वितरणमा गम्भीर हुन आवश्यक रहेको उल्लेख गरेका छन्।
“विगतमा करिब ६६ प्रतिशत बजेट बहुवर्षीय वा ठुलो आयोजनामा र ३३ प्रतिशत टुक्रे योजनामा छुट्याइएकोमा अहिलेको सरकारले ४१ प्रतिशतभन्दा बढी बजेट साना भौतिक टुक्रे योजनामा मात्र केन्द्रित गरेको र अन्य शिर्षकहरूमा पनि अवस्था त्यस्तै रहेको सांसद दुलाल बताउँछन्। यसरी साना योजनालाई प्राथमिकता दिँदा दीर्घकालीन र प्रदेश गौरवका आयोजना ओझेलमा परेको उनको भनाइ छ।
उनले सन्तुलित र समावेशी विकास नीति अवलम्बन नगरेसम्म प्रदेशको समृद्धि सम्भव नहुने भन्दै दीर्घकालीन सोचसहितको विकास मोडेलमा सरकार अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए।
“नियत के थियो भन्दा पनि परिणाम के छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ” भन्दै दुलालले सरकारलाई कार्यान्वयनमुखी र दूरदर्शी योजना निर्माणमा केन्द्रित हुन आग्रह गरेका छन्।
प्रतिक्रिया दिनुहोस्