२०८२ मंसिर १८

चीनबाट आयातित सामान अब सिधै चाेभार बन्दरगाहमा

रामकृष्ण थापा |-
उत्तरी नाका तातोपानी र रसुवाबाट नेपालका लागि आयात हुने मालवस्तु चिनियाँ सहरबाट सिधै काठमाडौंस्थित चाेभार सुख्खा बन्दरगाहमा ल्याइने भएको छ ।
सामान ढुवानीकाे लागि चाइना रेलवे कम्पनीले प्रारम्भिक काम कार्यान्वयनमा ल्याएको छ । नेपाल सरकारले आयात निर्यातलाई थप सहज र आधुनिक बनाउन चाेभार बन्दरगाह निर्माण गरेकाे हाे ।
आयातकर्ता व्यापारीले नेपालबाट एलसी पठाएर चीनमा खरिद गरेकाे सामान अब बिनाझन्झट सहीसलामत काठमाडौ आइपुग्ने भएको छ । चीनको व्यापारिक केन्द्रबाट चाइना रेलवे कम्पनीले सामान ढुवानीकाे जिम्मा लिनेछ । जसका लागि चीन सरकारले साे कम्पनीलाई जिम्मेवारी प्रदान गरेकाे छ ।
सर्वप्रथम चिनियाँ सहरबाट रेलकाे डब्बाभित्र राखेर ४० फुटे कन्टेनर तिब्बतको सिँगात्सेसम्म आउँछ । त्यसपछि रेलकाे डब्बामा रहेकाे कन्टेनरलाई हुक एण्ड ड्रप प्रणालीद्वारा चिनियाँ ट्रकमा जडान गरिन्छ । सिँगात्सेमा अवस्थित कस्टम ड्राइपाेर्टमा साे कन्टेनरलाई जिपीएससहितको स्मार्ट सिलले लक गरिन्छ । उक्त सिल चिनियाँ क्षेत्रमा भन्सार अधिकारीले ट्रयाक गरेर कन्टेनरकाे अवस्था नियालिरहेका हुन्छन् । जिपीएस जडान गरिएकोले कन्टेनरकाे अवस्था थाहा हुन्छ । ताेकिएकाे समयभित्र ताेकेकाे गन्तव्यमा नपुगे कारवाहीकाे व्यवस्था गरिएको छ । चाइना रेलवे कम्पनीले चिनियाँ ट्रकद्वारा ल्याएको कन्टेनर टेलर तातोपानी र रसुवाको मितेरीपुलमा आएपछि नेपाली ट्रककाे टाउकाेले तानेर सिधै चाेभार सुख्खा बन्दरगाह ल्याउँछ । यहाँ पनि हुक एण्ड ड्रप प्रणाली लागू हुन्छ । सिँगात्सेबाट छुटेकाे लामाे टेलर बाेकेकाे चिनियाँ ट्रक पनि सिधै चाेभार बन्दरगाह आउनसक्छ । तर चिनियाँ नम्बर प्लेटकाे ट्रक नेपालमा ७२ घण्टामात्रै बस्न पाउँछ । ७२ घण्टा बस्दा १५ सय रुपैयाँ नेपाल सरकारलाई तिर्नुपर्छ । सिँगात्सेबाट जिपिएस जडान गरेकाे स्मार्ट सिल नेपाल- चीन सीमासम्मका लागि मात्र हाे । नेपालमा प्रवेश गरेका कन्टेनरमा तातोपानी र रसुवा भन्सारले नयाँ स्मार्ट सिल जडान गर्छन् । तातोपानी भन्सारका सूचना अधिकारी सूर्य काफ्लेले नेपाल- चीन आयात/ निर्यातलाई दुवै सरकारले समयानुकूल आधुनिक बनाउन लागेकाे बताए । चाइना रेलवेले विभिन्न नेपाली ट्रान्सपाेर्ट कम्पनीसँग सम्झौता गरेर तातोपानीबाट काठमाडौंसम्म नेपाली नम्बरप्लेटकाे ट्रकले सामान ढुवानी गर्नेछन् । नमस्ते , सिल्क , रेवाङ , सिकाड लगायत ट्रान्सपाेर्ट कम्पनीसँग चिनियाँ टेलर तान्ने ट्रककाे टाउकाे छन् ।
“तातोपानी भन्सारमा आएपछि हामीले स्मार्ट सिल जडान गरेर ट्रान्जिट डिक्लेयर गर्छाैं , काफ्लेले भने, “हामीले लगाएको स्मार्ट सिललाई चाेभार सुख्खा बन्दरगाहले ट्रयाक गरिरहेकाे हुन्छ ।”
चाइना रेलवे कम्पनीले ढुवानीकाे जिम्मेवारी लिएसँगै चिनियाँ क्षेत्रमा गुड्ने परम्परागत कन्टेनर पनि स्वत: विस्तारै हट्ने भएका छन् । यता नेपालपटि तातोपानी र रसुवामा ढुवानी गर्दै आएका एक हजारभन्दा बढी २० र २४ फुटे कन्टेनर बिस्थापित हुने अवस्था हुन्छ । दुवै नाकामा सामान लाेडअनलाेड गर्ने एक हजार मजदुरकाे पनि राेजिराेटी खाेसिने छ । लाेडर संघका मजदुर र ट्रक कन्टेनर व्यवसायीले चिनियाँ ४० फुटे टेलर सिधै चाेभार ल्याउँदा राेजीराेटि गुम्ने भएकोले विराेध जनाएका छन् ।
काेदारी र अरनिको सडककाे जीर्ण अवस्थाले कन्टेनर बाेकेकाे ४० फुटे टेलर काठमाडौं आउँदा धेरै जाेखिम माेल्नुपर्ने हुन्छ । बाह्रबिसेमाथि रहेका बेलिब्रिजहरुले लामाे कन्टेनरकाे भार थेग्न सक्दैन । यद्यपि, चीनबाट सिधै चाेभार बन्दरगाहमा सामान झार्दा ढुवानी मूल्य ५०-६० हजार कम लाग्छ, धेरै ठाउँमा सामान पल्टी गर्ने झन्झट हट्छ र सामान छिटाे आयात हुन्छ । नेपाली व्यापारीले भारतकाे काेलकाता हुँदै सामान आयात गर्नुपर्ने बाध्यता पनि न्युनीकरण हुन्छ । लामाे समय नेपाल-चीन व्यापार गर्दै आएका युवा व्यवसायी नमस्ते ट्रान्सपाेर्ट कम्पनीका प्रमुख लाेप्साङ शेर्पा भन्छन् ,” चिनियाँ बजारबाट सिधै चाेभार ल्याउँदा सामानकाे सुरक्षा हुन्छ, मूल्य घट्छ र व्यापारीलाई धेरै सहज हुन्छ । आमनेपालीलाई फाइदा पुग्ने विषय भएको उनले सुनाए । तातोपानी र रसुवाबाट सिधै सामान ढुवानी हुँदा भारतकाे भूमि प्रयाेग गरेर चिनियाँ सामान आयात गर्ने समस्या पनि हट्छ, उनले भने ,आधुनिक जमानामा विधि र प्रविधिकाे व्यापक प्रयाेग गर्नुपर्छ।” यद्यपि , सीमामा काम गर्ने कतिपय व्यवसायीले यसकाे विरोध गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्