२०८२ असार १७
                           

बुद्ध चित्तको दाना रुखबाटै चोरी

अशोक पराजुली – चौतारा साँगाचाेकगढी नपा – १२ साँगाचाेकका बम बहादुर तामाङले आफ्नो बारिमा लगाएको बुद्ध चित्तको मालाको दाना चोरी भएको छ ।
टिप्ने बेला भएको माला आज राती अन्दाजी १ बजेको समयमा चोरी भएको रुख धनी बम बहादुर तामाङले बताए । तामाङका अनुसार “यस बर्षको बुद्ध चित्तको दाना एक ब्यापारीलाई १ लाख ७० हजारमा बिक्री गरिसकिएको र बैना रकम ५० हजार समेत लिएको थियो । तर आज राती चोरी भयो । ”
घटनास्थलमा प्रहरी पुगेर निरीक्षण गरेको छ । रुखको हाङ्गा समेत लछारेर दाना टिपिएको अवस्था छ । चोरी कार्यमा संलग्नहरुलाई अनुसन्धान गरि छिट्टै पक्राउ गरिने प्रहरीले जनाएको छ ।
कुनै समय काभ्रे जिल्लाको तिमाल क्षेत्रमा मात्रै पाइने र निकै चर्चामा रहेको बुद्ध चित्त अहिले सिन्धुपाल्चोकका पनि विभिन्न स्थानमा लगाइएको र धेरैले बुद्ध चित्तको दाना बेचेर राम्रो आम्दानी गर्न थालेका छन् । तर चोरी हुने र ब्यापारी समुह बिचमै लेनदेनको विषयलाई लिएर लफडा हुँदा किसानले लगाएको रुख विरुवा समेत असुरक्षित हुन थालेको एक रुख धनीले बताए ।
बहुमुल्य दानाको रुपमा बिक्री हुँदै आएको बुद्ध चित्तको एउटै रुखबाट ४-५ लाख सम्म आम्दानी लिन सकिने एक ब्यापारीले बताए । चौतारा साँगाचोकगढी नगरपालिकाले हरियो काँचो दानाको प्रति किलो १ हजार राजस्व लिने गरेको नगरपालिकाको राजस्व शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्