सिन्धुपाल्चोक, असार ५ – सिन्धुपाल्चोक जिल्लामा वर्षायामसँगै सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै सांसद माधव सापकोटाको संयोजनमा सरोकारवाला निकायबीच छलफल गरिएको छ। चौतारास्थित जिल्ला आपत्कालीन सहायता केन्द्रमा सम्पन्न उक्त बैठकमा सुरक्षा निकाय, जनप्रतिनिधि, विपद् फोकल पर्सन, पत्रकार तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागीता थियो।
छलफलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले जिल्लामा भइरहेको तयारीबारे जानकारी गराएका थिए भने प्रमुख जिल्ला अधिकारी किरण थापाले जोखिम, चुनौती र तयारीबारे सांसदको ध्यानाकर्षण गराए। विपदको बेलामा संचार अवरोध, सडक नालीको अव्यवस्था र नीतिगत बाधा अवरोधहरूबारे सरोकारवालाहरूले चासो व्यक्त गरे।
सांसद सापकोटाले उद्धार कार्यमा विद्यार्थी संगठनहरूलाई तालिममार्फत संलग्न गराउन सकिने धारणा राख्दै पूर्वतयारीलाई व्यवस्थित र समन्वयात्मक ढंगले अगाडि बढाउनु पर्ने बताए। उनले चीनतर्फका ताल फुट्ने सम्भावनाबारे सतर्क रहनुपर्ने र विपद् पूर्व तयारी सूचकांकको आधारमा आगामी कार्ययोजना अघि बढाइने प्रतिबद्धता जनाए।
प्रतिक्रिया दिनुहोस्