चौतारा, सिन्धुपाल्चोक । अपाङ्गता भएका व्यक्तिहरूका अभिभावकहरूलाई लक्षित गर्दै चौतारा साँगाचोकगढी नगरपालिकामा हेरचाह सम्बन्धी तालिम सञ्चालन गरिएको छ।दुईदिने तालिम जेठ २९ र ३० गतेका सञ्चालन हुनेछ। तालिमको उद्देश्य अभिभावकहरूलाई अपाङ्गता भएका व्यक्तिको उचित हेरचाह, सहयोग र समावेशी व्यवहारका बारेमा सशक्त बनाउनु रहेको आयोजकहरूले जनाएको छ।
कार्यक्रमको पहिलो दिन बिहीबार अपाङ्गता भएका व्यक्तिका अभिभावकहरूलाई सहायता स्वरूप प्रति व्यक्ति १० हजारको दरले जम्मा ५० जनालाई कुल ५ लाख वितरण भएको छ। यस रकमले अभिभावकहरूलाई आफ्नो अपांगता भएको बालबालिका वा सन्तानहरूको हेरचाह र शिक्षामा ठुलो सहायता हुने अपेक्षा रहेको छ।
कार्यक्रमको आयोजना बौद्धिक अपाङ्गता अभिभावक संघ नेपाल, चौतारा, सिन्धुपाल्चोकले गरेको हो भने चौतारा साँगाचोकगढी नगरपालिकाले यस कार्यक्रममा आर्थिक सहयोग गरेको छ। साथै, कार्यक्रममा सीबीएम ग्लोबल फन्डमा सप्रोस नेपालको सहकार्य रहेको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख कृष्णप्रसाद सापकोटाले विगतमा अन्य संस्थाको साझेदारीमा सञ्चालन भएको कार्यक्रमहरूबाट अनुभव लिई यस्ता कार्यक्रमहरूलाई थप वैज्ञानिक कसरी बनाउन सकिन्छ भन्ने विषयमा विशेष ध्यान दिन आवश्यक रहेको र नीति योजना तथा बजेट विनियोजन गर्ने समयमा रहदै गर्दै यस पक्षको समस्य पहिचान गरि वैज्ञानिक एवम् रचनात्मक ढंगले अघि बढ्ने बताए।
यस तालिमले सहभागी अभिभावकहरूलाई अपाङ्गता भएका परिवारका सदस्यहरूको हेरचाह तथा उनीहरूको आत्मनिर्भरता प्रवर्द्धनमा महत्वपूर्ण सहयोग पुर्याउने विश्वास लिइएको छ।
प्रतिक्रिया दिनुहोस्