२०८२ कार्तिक २२

१७ परिवारलाई चौतारा साँगाचोकगढीले  अस्थायी स्थानान्तरण गर्दैै

चौतारा — चौतारा साँगाचोकगढी नगरपालिका–१० स्थित खत्रीथोक मगराति टोलका १७ परिवारलाई चौतारा साँगाचोकगढी नगरपालिकाले अस्थायी रूपमा स्थानान्तरण गर्ने भएको छ । असोज ११ र १२ गतेको अविरल वर्षापछि भू–चिरा र पहिरोको जोखिम तीव्र बनेपछि उनीहरूलाई नजिकैको लाठेडाँडा सामुदायिक वनमा सार्ने निर्णय गरिएको हो ।

सोमबार बसेको नगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठकले अस्थायी रूपमा सामुदायिक वन प्रयोग गरेर संरचना निर्माण गर्ने निर्णय गरेको हो । स्थायी संरचना निर्माण भएपछि उनीहरूलाई त्यहाबाट पनि अन्य सुरक्षित स्थानमा स्थानान्तरण गरिने नगरको विपद् फोकल पर्सन चिरञ्जिवी कट्टेलले जानकारी दिए।
बैठक लगत्तै सोमबारनै नगर प्रमुख कृष्ण प्रसाद सापकोटा, उपप्रमुख सिता थापा, प्रमुख प्रशासकीय अधिकृत वैकुण्ठ प्रसाद सापकोटा, नेपाली सेना ,नेपाल प्रहरीसहितको टोलीले खत्रीथोक मगराति बस्तीको स्थलगत निरीक्षणसमेत गरेको थियो ।

विपद् प्रभावित परिवारका लागि सरकारले प्रत्येकको खातामा २५ हजार रुपैयाँ राहत पठाए पनि जमिनको अभावका कारण स्थायी आवास निर्माण प्रक्रिया अघि बढ्न सकेको थिएन । “जीवन रक्षालाई सर्वोपरि मानेर तत्कालका लागि सामुदायिक वनमा अस्थायी संरचना बनाएर स्थानान्तरणको निर्णय गरिएको हो,” नगर प्रमुख सापकोटाले बताए ।

यसैबीच, विपद् समितिको बैठकले अझै ठुलो जोखिम देखाउँदै थप तयारी थालिएको जनाएको छ । भीषण वर्षा भएमा १८३ घरधुरी जोखिममा पर्ने अनुमान गरिएको छ, जसमा करिब ६६६ जनालाई अन्यन्त्र सार्नुपर्ने अवस्था आउनसक्ने देखिएको छ । हाल नगरभित्र २१ बस्ती उच्च जोखिममा रहेको विवरणसमेत सार्वजनिक गरिएको छ ।

नगरपालिकाले सम्भावित प्राकृतिक प्रकोपको जोखिम न्यूनीकरण र तत्काल उद्धार तथा राहतका लागि सबै संयन्त्र तयारी अवस्थामा राखिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्