२०८२ असार २
                           

सातौं पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगिता जेठ २७ देखि

सिन्धुपाल्चोक– पाँचपोखरी थाङपाल गाउँपालिकाको आयोजनामा हुने सिन्धुपाल्चोक जिल्लास्तरीय पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगिताको सातौं संस्करण आगामी जेठ २७ गतेदेखि असार २ गतेसम्म काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना हुने भएको छ।

प्रतियोगितामा सिन्धुपाल्चोक जिल्लाका सात टोलीको सहभागिता रहने आयोजकले जनाएको छ। प्रतियोगिताको विजेता टोलीले एक लाख रुपैयाँ, भने उपविजेताले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।

यसका साथै प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई ग्रेट हिमालय क्रिकेट एकेडेमीले ६ महिना निःशुल्क प्रशिक्षण प्रदान गर्नेछ। उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले पनि ३–३ महिना निःशुल्क प्रशिक्षण प्राप्त गर्ने छन्। त्यस्तै, प्रतियोगिताबाट छनोट गरिएका तीन उत्कृष्ट खेलाडीहरूलाई एन्जल्स स्पोर्टस एकेडेमीले ३ महिनाको विशेष प्रशिक्षण दिने व्यवस्था मिलाइएको छ।

यसअघिका संस्करणहरूमा सिन्धुपाल्चोक जिल्लाभित्रका खेलाडीहरू मात्र सहभागी हुन पाउने व्यवस्था थियो। तर, यसपटकदेखि सो नियममा परिवर्तन गरी बागमती प्रदेशबाट विभिन्न उमेर समूहमा प्रतिनिधित्व गरेका वा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएका दुई खेलाडीहरूलाई प्रत्येक टोलीमा समावेश गर्न मिल्ने व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ।

पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाका अनुसार प्रतियोगिताको पहिलो तीन संस्करण गाउँपालिकाभित्रै, र पछिल्ला तीन संस्करण मुलपानी क्रिकेट मैदानमा सम्पन्न भएका थिए।

प्रतियोगिता सफल सञ्चालनको लागि सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघले प्राविधिक तथा व्यवस्थापकीय सहयोग गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्