२०८२ जेष्ठ १७
                           

साधना केन्द्रमा जनस्वास्थ्य चेतना अभियान

सिन्धुपाल्चोक – सिन्धुपाल्चोक जिल्लाको जनस्वास्थ्य कार्यालयले स्वास्थ्य जीवनशैलीलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित गाउँवस्तीहरूमा विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। यसै क्रममा, कार्यालयले गणतन्त्र दिवसको अवसर पारेर चौतारास्थित योग साधना केन्द्रमा एक दिवसीय जनस्वास्थ्य जागरण कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा जनस्वास्थ्य प्रमुख दुर्गा बजगाइ, योग गुरु किरणमान श्रेष्ठ, पतञ्जली योग जिल्ला समिति सिन्धुपाल्चोकका अध्यक्ष नातिबाबु धिताल, उपाध्यक्ष शोभा उलक, नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका निवर्तमान अध्यक्ष जीवन श्रेष्ठसहित स्थानीय साधकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै जनस्वास्थ्य कार्यलय सिन्धुपाल्चोकका प्रमुख बजगाइले प्रत्येक नागरिकले आफ्नो स्वास्थ्यप्रति सचेत भई स्वस्थ जीवनशैली अपनाउनुपर्नेमा जोड दिए। त्यसैगरी  उपाध्यक्ष उलकले स्वस्थ रहन जीवनशैली सुधार गरी योगसाधनालाई प्राथमिकता दिन आग्रह गरेका छन्। नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष श्रेष्ठले भने  रोग लाग्नुअघि नै रोकथामका उपायहरू अवलम्बन गर्नु आवश्यक रहेको र योग र ध्यानले यसमा महत्त्वपूर्ण भुमिका खेल्दै आएको कुारा बताए।

‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ अभियानअन्तर्गत रक्सी, चुरोट तथा सुर्तिजन्य पदार्थको सेवन नगर्ने, नियमित योग तथा व्यायाम गर्ने, व्यक्तिगत तथा पारिवारिक स्वास्थ्यप्रति सचेत रहने जस्ता १० बुदे  प्रतिबद्धतापत्रमा सहभागीहरूले हस्ताक्षर गरेका थिए।

कार्यक्रमको दौरान मधुमेह तथा उच्च रक्तचापजस्ता नसर्ने रोगहरूको निःशुल्क परीक्षण तथा परामर्श सेवा पनि प्रदान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्