चोैतारा – गणतन्त्र दिवस २०८२ को अवसरमा सिन्धुपाल्चोकको चौतारामा खुला दौड प्रतियोगिता आयोजना गरिएको छ। प्रतियोगितामा विभिन्न विधामा खेलाडीहरू विजेता घोषित भएका छन्। पाँच किलोमिटर खुला पुरुष दौडतर्फ इन्द्रध्वज गणका सागर बिकले १८ मिनेट १६ सेकेण्डमा निर्धारित दूरी पूरा गर्दै प्रथम स्थान हासिल गरे। सोही गणका अमृत बयलकोटीले १८ मिनेट ४४ सेकेण्डमा दौड समाप्त गरी द्वितीय स्थानमा रहे भने रामबहादुर सुनारले १९ मिनेट ७ सेकेण्डमा दूरी पार गर्दै तृतीय बने।
महिला खुला दौड (३ किलोमिटर) तर्फ चौतारा साँगाचोकगढी नगरपालिका–७ की निमा तामाङले १७ मिनेट ४९ सेकेण्डमा दूरी पार गर्दै उपाधि जितिन्। स्वीकृति श्रेष्ठले १९ मिनेट ४४ सेकेण्डमा दौड समाप्त गरी दोस्रो स्थान हासिल गरिन् भने सयुना श्रेष्ठले २० मिनेट ४६ सेकेण्डमा दूरी पार गर्दै तृतीय स्थान प्राप्त गरिन्।
४० वर्षमाथिको पुरुष दौड (५ किलोमिटर) तर्फ चौतारा साँगाचोकगढी नगरपालिका–१३ का दुर्गाप्रसाद ढुङ्गेलले २३ मिनेट ३८ सेकेण्डमा दौड पूरा गर्दै प्रथम स्थान प्राप्त गरे। शसस्त्र प्रहरी बलका राजु कोईरालाले २५ मिनेट ५२ सेकेण्डमा दौड समाप्त गरी द्वितीय तथा सोही बलका जगतबहादुर भुजेलले २६ मिनेट ३२ सेकेण्डमा दूरी पार गर्दै तृतीय स्थानमा रहे।
प्रतियोगिताका विजेताहरूलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने जिल्ला खेलकुद विकास समिति सिन्धुपाल्चोकका अध्यक्ष रामकृष्ण दंगालले जानकारी दिए। गणतन्त्र दिवसको औपचारिक कार्यक्रममा विजेताहरूलाई पुरस्कार वितरण गरिनेछ। प्रमुख जिल्ला अधिकारी किरण थापाले रिबन काटेर प्रतियोगिताको उद्घाटन गरेका थिए।
प्रतिक्रिया दिनुहोस्