२०८२ जेष्ठ १७
                           

पिपलडाँडामा महिलाहरूको पाठेघरको मुखको क्यान्सर परीक्षण

साँगाचोकगढी नगरपालिकामा ३० देखि ४९ वर्ष उमेर समूहका महिलाहरुलाई लक्षित गर्दै पाठेघरको मुखको क्यान्सर (सर्भाइकल क्यान्सर) परीक्षण शिविर सञ्चालनमा ल्याइएको छ। नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा भइरहेको यो अभियानले महिलाहरूमा देखिने प्रमुख स्वास्थ्य समस्यामध्ये एकमाथि प्रभावकारी नियन्त्रण गर्न उद्देश्य लिएको छ।

नेपालमा महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर सबैभन्दा बढी देखिने क्यान्सर हो। यही विषयलाई ध्यानमा राखी क्यान्सरको प्रारम्भिक पहिचान र उपचारका लागि नगरपालिकाले निःशुल्क परीक्षण तथा उपचार कार्यक्रम सञ्चालन गरेको नगरप्रमुख कृष्ण प्रसाद सापकोटाले जानकारी दिनुभयो।

“महिलाहरूको स्वास्थ्य सुरक्षाका लागि समयमै परीक्षण अत्यन्त आवश्यक हुन्छ,” नगरप्रमुख सापकोटाले भन्नुभयो, “त्यसैले हामीले समुदायस्तरमै पुगेर सेवा दिने उद्देश्यले यो शिविर संचालन गरेका हौं।”

शिविरमा ‘भिजुअल इन्स्पेक्सन विद एसीटिक एसिड’ (VIA) नामक विधिबाट पाठेघरको मुखको प्रारम्भिक परीक्षण गरिनेछ भने, परीक्षणमा असामान्यता देखिएमा ‘थर्मोकोगुलेसन’ विधिबाट उपचारसमेत गरिने व्यवस्था मिलाइएको प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटाले बताउनुभयो।

यसअन्तर्गत वडा नं. ६ मा सम्पन्न भएको शिविरमा ११० जना महिलाले सेवा लिएका छन्। तीमध्ये एक महिलामा समस्या देखिएकोले उनको निःशुल्क शल्यक्रिया गरिने स्वास्थ्य शाखा प्रमुख दिनेश नेपालले जानकारी दिनुभयो।

शिविरमा सहभागी महिलाहरूले सेवा सहज, प्रभावकारी र भरपर्दो रहेको प्रतिक्रिया दिएका छन्। “पहिल्यै डर लाग्थ्यो, तर यहाँ स्वास्थ्यकर्मीहरूले राम्रोसँग बुझाएर परीक्षण गरे। अहिले ढुक्क छु,” शिविरमा सहभागी एक महिलाले बताइन्।

नगरपालिकाले सबै महिलाहरूलाई यस्ता शिविरहरूमा सक्रिय सहभागी भइ स्वास्थ्य परीक्षण गराउन आग्रह गरेको छ। स्वास्थ्य शाखा प्रमुख नेपालका अनुसार समयमै जाँच गराउन सकेमा क्यान्सरजस्तो गम्भीर रोगबाट जोगिन सकिन्छ।

शिविरको आगामी तालिका यसप्रकार छ:
वडा नं. ४ – जेठ १४ गते

वडा नं. ९ – जेठ १६ गते

वडा नं. १ – जेठ १८ गते

वडा नं. २ – जेठ १९ गते

वडा नं. ८ – जेठ २० गते

वडा नं. ५ – जेठ २१ गते

वडा नं. १० (सुकुटे) – जेठ २२ गते

स्वास्थ्यकर्मीहरूको अनुसार, पाठेघरको मुखको क्यान्सरको सुरुआती अवस्था पहिचान हुन सकेमा औषधि तथा सर्जिकल उपचारद्वारा पूर्ण रुपमा निको पार्न सकिन्छ।

नगरपालिका स्तरमै यस्तो प्रकारको स्वास्थ्य सेवा पुर्‍याउनु सराहनीय कार्य हो भन्ने सर्वसाधारणको प्रतिक्रिया रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्