२०८२ जेष्ठ १६
                           

सेन स्मृति दिवसका अवसरमा वृद्ध वृद्धालाई फलफूल वितरण

चौतारा, सिन्धुपाल्चोक – प्रेस सेन्टर नेपाल सिन्धुपाल्चोकले अग्रज पत्रकार, कवि एवं साँस्कृतिककर्मी कृष्ण सेन इच्छुकको २३ औं स्मृति दिवसका अवसरमा आज चौतारा वृद्धाश्रममा रहेका वृद्ध  वृद्धालाई फलफूल तथा खाद्य सामाग्री  वितरण गरेको छ ।

पत्रकार तथा सांस्कृतिकर्मी समेत रहेका इच्छुकले बलिदान दिएको दिनलाई सेन्टरले सेन स्मृति दिवसको रुपमा मनाउँदै आएको छ । स्मृति दिवसकै सन्दर्भमा केन्द्र प्रदेश र जिल्ला संगठन समितिहरुले आज देशभर विभिन्न कार्यक्रम गरेर स्मृति दिवस मनाउने क्रममा प्रेस सेन्टर नेपाल सिन्धुपाल्चोकले भने वृद्धाश्रममा रहेका वृद्ध वृद्धालाई सामाग्री वितरण गरेको हो ।

महान सहिद इच्छुकले पनि निम्न बर्गको मुक्ति र अधिकारका निम्ति वर्गसंघर्षको मैदानमा जीवन बलिदान गरेको र उहाँको सपना पनि निम्न बर्गका मान्छेको सेवा गर्ने रहेकोले उहाँकै उद्देश्य अनुरुप बृद्ध बृद्धालाई फलफूल लगायत सामाग्री वितरण गरिएको प्रेस सेन्टर नेपाल सिन्धुपाल्चोकका अध्यक्ष अशोक पराजुलीले बताए ।
सो कार्यक्रममा प्रेस सेन्टर नेपालका नेता अग्रज पत्रकार एवं गोरखापत्र संस्थानका पुर्व बोर्ड सदस्य सुरेश कसजु, संगठनका नेता एवं नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका पुर्व अध्यक्ष जीवन श्रेष्ठ, प्रेस चौतारी नेपालका जिल्ला अध्यक्ष विदुर आचार्य, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रामकृष्ण दंगाल, प्रेस सेन्टरका जिल्ला अध्यक्ष अशोक पराजुली लगायतको उपस्थिति रहेको थियो ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय पार्षद समेत रहेका सेन साहित्यिक क्षेत्रमा इच्छुक नामबाट स्थापित थिए उनका ‘शोकाञ्जली’, ‘बन्दी र चन्द्रागिरी’, तथा ‘इतिहासको यस घडीमा’ गरी तीनवटा काव्यकृति प्रकाशित छन् । सेनलाई २०५८ जेठ ६ गते काठमाडौंको मध्यबानेश्वरस्थित ह्वाइट हाउस स्कूलबाट प्रहरीले गिरफ्तार गरी महेन्द्र पुलिस क्लब प्रदर्शनीमार्गमा लगेर एक हप्तासम्मको चरम यातना दिएर हत्या गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्