२०८२ भाद्र १२

चौतारा साँगाचोकगढी नगरपालिकाको शैक्षिक क्षेत्रमा एक फड्को-सहिद स्मृति आवासीय बालग्राम 

चौतारा साँगाचोकगढी नगरपालिकाको सामुदायिक शैक्षिक समर्पणले जन्म दिएको सहिद स्मृति आवासीय बालग्राम टुहुरा, असहाय र अभिभावक विहीन बालबालिकाहरूको जीवनमा आशाको नयाँ विहानी बनेको छ ।

नगरपालिकाद्वारा शहिदहरुको स्मृतिमा सञ्चालित सहिद स्मृति आवासीय बालग्राम नगरभित्रका टुहुरा, असहाय तथा अभिभावकविहीन बालबालिकाहरूका लागि संरक्षण, गाँस, बास, कपास तथा गुणस्तरीय शिक्षा र समुचित अवसरको सुनिश्चितता गर्दै, संविधानमा उल्लेखित बालअधिकारको भावनालाई मूर्तरूप दिने, स्थानीय सरकारको यस कार्य वास्तवमै अनुकरणीय छ।

साहरा विहिन बालवालिकाहरुका लागि स्थानीय सरकारको यो कदमले सम्भावनाको उज्यालो रेखा कोरि जीवनको नयाँ अध्याय लेख्न सुरुवात गरेको छ ।

बालगृहले न्यानो अभिभावकीय संरक्षण, शिक्षाको उज्यालो, स्वास्थ्य सेवा, पोषणयुक्त आहार तथा सुरक्षित आवास प्रदान गरी असहाय बालबालिकाको जीवनमा नयाँ आशा र भविष्यको ढोका खोलेको छ। बालबालिकाहरुको अधिकारलाई आत्मसात् गर्दै, यस बालगृहले न्यानो अभिभावकत्व, समर्पित शिक्षण वातावरण, ममतामयी आहार र सुरक्षित आश्रय प्रदान गर्दै नयाँ जीवनको गाथा सुरु गरेको छ। ती साना हातहरूमा कलम थमाउने मात्र होइन, उनीहरूको सपना लेख्न सक्ने हिम्मत प्रदान गरेको छ।

हाल यहाँ १८ जना बालबालिकाहरू हर्ष, अनुशासन र आशाको वातावरणमा बसी अध्ययन गर्दै आएका छन् भने आगामी शैक्षिक सत्रदेखि थप २२ जना बालबालिकाहरूलाई समावेश गरिने योजना अनुसार यस कार्यको दायरा झनै फराकिलो हुँदै गएको छ। बालगृहको हरेक दिन नयाँ आशा र सम्भावनाको बीउ रोप्ने बगैंचाजस्तै बनिरहेको छ।
आजको यथार्थ के हो भने, गाउँहरूबाट मानिसहरू शहर केन्द्रित जीवनशैलीतर्फ अग्रसर छन्, गाउँहरू सुनसान हुँदै गएका छन्, गाँउका विद्यालयहरू खाली भइरहेका छन्, र शिक्षा बजारतर्फ केन्द्रित हुँदै गएको छ। यस्ता विसम परिस्थितिमा चौतारा साँगाचोकगढी नगरपालिकाले आवासीय शिक्षाको बीजारोपण गर्नु, केवल विकास योजना मात्रा होइन, यो एक शैक्षिक क्षेत्रमा दीर्घकालीन सोचको प्रतिबिम्ब हो ।

नगरपालिकाको प्रमुख कृष्णप्रसाद सापकोटाको नेतृत्व र शिक्षाप्रतिको समर्पणले यो कार्य सुरुवात भएको हो । नगर प्रमुखको सक्रिय उत्तरदायित्वबोध दृढ संकल्प र बालहितमै केन्द्रित सोचले यस कार्यलाई एक स्थानीय सरकारको उदाहरणीय कार्यको रुपमा लिन सकिन्छ ।

जहाँ बालपन मुस्कुराउँछ, सपना पलाउँछ र त्याँहा भविष्य निर्माण हुन्छ ।

प्रतिक्रिया दिनुहोस्