२०८१ माघ २४
                           

नमुना वडा चौतारा साँगाचोकगढी– ११

रामकृष्ण थापा – चौतारा साँगाचोकगढी नगरपालिका– ११ मा पुग्दा प्रत्यक्ष देखिने साइलेज मेसिन र एक करोड लिटर क्षमताको पोखरीले जोकोहीको ध्यान खिच्छ । दोलालघाट–चौतारा सडकखण्डको पानीचौर भन्ने स्थानमा पुगेपछि सडकमुन्तिर वडा कार्यालय छ । वडा कार्यालय आफैँमा एउटा भण्डारगृह हो । जहाँ वडावासीलाई चाहिने अत्यावश्यक कृषि सामग्री भण्डारण गरिएका छन् । वरिपरि फलफूलका बिरुवा हुर्कँदै गरेका देख्दा मन लोभिन्छ । वडाध्यक्ष रोशनराज गिरीलाई भेट्न पुग्ने पाहुनालाई भैँसीको मही र वडामा उत्पादित फलफूलले स्वागत गरिन्छ । वडाको नयाँ र नमुना काम हेर्न मानिसको घुइँचो नै लाग्ने गरेको छ ।

गिरी पेसाले अधिवक्ता हुन् । पेसालाई थाती राखेर अहिले उनी वडा बनाउन लागेका छन् । माओवादीबाट वडाध्यक्षमा निर्वाचित भएदेखि नै उनले आफ्नो पदसँग प्रतिस्पर्धा गरिरहेका छन् । ‘एउटा वडाध्यक्षले कति काम गर्न सक्छ भन्ने उदाहरण पेस गर्न आफ्नो पदसँग आफैँ प्रतिस्पर्धा गरिरहेको छु,’ उनले भने । गिरीले तीनवर्षे कार्यकालमा केही महŒवपूर्ण काम गरेर वडालाई नमुना बनाएका छन् । चीनबाट १० लाख रुपैयाँको साइलेज मेसिन ल्याएर वडावासीको पशुपालन अभियानलाई थप व्यवस्थित पारेका छन् । वडावासी ११ सय घरधुरी मकैको ढोड र घाँस बोकेर वडा कार्यालय पुग्छन् । साइलेज मेसिनले मकैको ढोड र घाँसलाई प्याकिङ गरेर गुइँठो बनाउँछ, जुन हिउँदका लागि पनि पशु चौपायालाई हरियो घाँस खुवाउन मिल्छ । यस काममा स्थानीयको खर्च वडाले नै व्यहोर्छ । वडानजिकै रहेको एक करोड लिटर अट्ने पोखरीमा बर्खाको भल जम्मा गरिन्छ । जसबाट वडामा सिँचाइ तथा वृक्षरोपण गरिएको छ ।

काठमाडौं महानगरपालिकामा फालिएका कालो तार ल्याएर वन्यजन्तु निगन्त्रण गर्ने अभियान सञ्चालन गरेर वन क्षेत्रलाई बारिएको छ । आठ किलोमिटर वन क्षेत्र कालो तारले बारिएको हो । खेतबारीमा रहेका अनावश्यक रुखबिरुवा काँटछाँट गरेर बाँदर नियन्त्रण गरिएको छ ।

वडाभित्र हालसम्म फलफूलका चार हजार बिरुवा रोपिएका छन् । सिँचाइ सुविधाका लागि ठाउँठाउँमा रिचार्ज पोखरी बनाइएको छ । पत्कर संकलन गरेर ठूलो परिमाणमा कम्पोस्ट मल तयार गरिएको छ । सापटी कार्यक्रम चलाएर वडावासीलाई भैँसी, गाई र बाख्रा दिइएको छ । पशुपालनमा वडाले दिएको ऋण किसानले तीन वर्षपछि फिर्ता गर्नुपर्छ । किसानलाई चाहिने कृषि सामग्री वडा कार्यालयमा स्टोर गरिएको छ । कृषि क्षेत्रमा ६० प्रतिशत बजेट लगानी गरिएको छ । वडाध्यक्षले विभिन्न दाताबाट बजेट ल्याएर थप नमुना काम गरिरहेका छन् । वडामा सञ्चालन भएका नयाँ काम र प्रविधिको अवलोकन गर्न अन्य स्थानीय तहका जनप्रतिनिधि पानीचौर आइरहेका छन् ।

नयाँ पत्रिका बाट

प्रतिक्रिया दिनुहोस्