२०८२ बैशाख १८
                           

क्षयरोग नियन्त्रणमा स्रोतको अभाव, प्रभावकारी कार्यक्रमको आवश्यकता

चौतारा, सिन्धुपाल्चोक | “हो, हामी क्षयरोगको अन्त्य गर्छ‍ोैँ” भन्ने नारासहित चौतारा साँगाचोकगढी नगरपालिका–१ मा वडा स्तरीय सूक्ष्म योजना निर्माणको प्रगति विश्लेषण तथा पुनः योजना निर्माण कार्यक्रम सम्पन्न भएको छ। यस कार्यक्रममा विगतका सम्पूर्ण तथ्यांक तथा जानकारीहरू क्षयरोग कार्यक्रम संयोजक हरिशरण नेपालले प्रस्तुत गरेका थिए।

संयोजक नेपालका अनुसार नगरपालिकामा हाल करिब ९६ जना क्षयरोगका बिरामीहरू रहेका अवस्थमा हालसम्म २१ जना मात्र पत्ता लागेका छन् र बाँकी बिरामीहरू अझै लुकेको अवस्थामा रहेकाले खोजी कार्यलाई तीव्र र प्रभावकारी बनाउनु आवश्यक रहेको छ ।

स्थानिय युवा र क्षयरोग स्वयंसेवकहरूको सहकार्यमा घरदैलो कार्यक्रम सञ्चालन गरिएको र उक्त कार्यक्रमबाट वडा नं १ मा १८२ जनामा क्षयरोगको लक्षण देखिएको संयोजक नेपालले बताए। तर, स्रोत र बजेटको अभावका कारण सम्भावित बिरामीहरूको परीक्षण गर्न नसकिएको चिन्ता समेत उनले व्यक्त गरे।

कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख शिवबहादुर पुरीले नगरपालिकाको पहलमा दुई जना क्षयरोगका बिरामी पहिचान गरिएको जानकारी दिए। उनले लुकेका बिरामीहरू पत्ता लगाउन जनस्तरको सहकार्य र सरोकारवालाहरूको गम्भीर चासो आवश्यक रहेको धारणा व्यक्त गरे।

यस्तै, वडा नं १ का कार्यवाहक वडा अध्यक्ष रामशरण अधिकारीले समुदायमा जनशक्ति अभाव भए पनि वडा स्तरबाट क्षयरोग निवारणको लागि बजेट विनियोजन गर्न पहल गरिने प्रतिबद्धता जनाए।

प्रतिक्रिया दिनुहोस्