२०८२ बैशाख १६
                           

सरकारले शिक्षकहरूको जायज मागलाई बेवास्ता गरेको माओवादीको आरोप

माओवादीले सरकारले शिक्षकहरूको जायज मागलाई बेवास्ता गरेको आरोप लगाउँएको छ । शिक्षकहरूको आन्दोलन चर्किएपछि बजेट अधिवेशनमा विधेयक पारित गर्ने तर्कलाई हास्यास्पद समेत बताएको छ ।

पार्टीका उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाले एक विज्ञप्ति जारी गर्दै सरकार गठन भएको १० महिनासम्म शिक्षकहरूको जायज मागलाई वेवास्ता गरेर, अहिले आन्दोलन चर्किएपछि बजेट अधिवेशनमा विधेयक पारित गर्ने तर्क दिनु हास्यास्पद रहेको बताए ।

नेपाल शिक्षक महासंघको नेतृत्वमा विद्यालय शिक्षा ऐन लगायतका माग राख्दै लामो समयदेखि जारी रहेको आन्दोलनप्रति माओवादीले गम्भीर ध्यानाकर्षण जनाएको छ।

पार्टीले विद्यालय क्षेत्रमा गुणात्मक सुधारको आवश्यकता औंल्याउँदै शिक्षकहरूको पेसागत सुरक्षा र उत्प्रेणामुखी वातावरण सिर्जना गर्नुपर्ने बताएको छ। माओवादी नेतृत्वको सरकारले विद्यालय शिक्षा विधेयक तर्जुमा गरी संसदमा दर्ता गरेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

साथै, शिक्षकहरूको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै आम जनसमुदायलाई शिक्षकहरूको पक्षमा उभिन आह्वान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्