अशोक पराजुली/चौतारा
जिल्ला सदरमुकाम चौतारामा रहेको जेठो विद्यालय श्रीकृष्ण रत्नगंगा माध्यमिक विद्यालयमा प्यानल बनाएर विद्यालय व्यवस्थापन समितिको निर्वाचन भएको छ । शनिबार सम्पन्न निर्वाचनमा दुई प्यानल र दुई स्वतन्त्र उठेका उम्मेदवारहरुले चुनाव चिन्हसहित अभिभावक मतदातासित भोट मागेर चुनाव जितेका छन् ।
चौतारा साँगाचाेकगढी नगरपालिका ५ स्थित श्रीकृष्ण रत्नगंगा माध्यमिक विद्यालयमा अभिभावकहरुले विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा मतदाता बनेर उम्मेदवारहरुलाई मत खसालेका छन् ।
दुई प्यानल र दुई स्वतन्त्र उम्मेदवारहरुले सहभागी भएकामा एक प्यानल र स्वतन्त्र उम्मेदवारहरु पराजित भएका छन् भने अर्को पक्षको सम्पूर्ण प्यानल नै विजयी भएको छ । नेपाली काँग्रेस र नेकपा एमालेको तर्फबाट बनाइएको संयुक्त प्यानललाई माओवादी-समाजबादी प्यानलले हराएको छ ।
माओवादीको तर्फबाट ईश्वरीप्रसाद श्रेष्ठको नेतृत्वमा चुनाव लडेको प्यानलले विव्यसको सम्पूर्ण पदमा विजय प्राप्त गरेको छ । विजयी ईश्वरीप्रसाद श्रेष्ठले ३ सय ५८ मत, राजन बुढाथोकीले ३ सय ९६ मत, लक्ष्मी श्रेष्ठले ३ सय ८२ मत र निर्मला श्रेष्ठले ३ सय ८२ मत पाउँदा अर्का उम्मेदवार निमेष श्रेष्ठले ३ सय २२ मत, निमा ग्याल्जेन लामाले २ सय ७७ मत, विन्दा गिरी पुरीले ३ सय २४ मत र लजिता श्रेष्ठले ३ सय ३९ मत पाएकी थिइन् । त्यस्तै स्वतन्त्र उम्मेदवार संसार श्रेष्ठले ६० मत र रविन श्रेष्ठले ४५ मत पाएका छन् । कुल १ हजार ३ सय ८९ मतदातामध्ये ८ सय ६४ जना अभिभावकले मतदानमा सहभागी भएर मतदान गरेका थिए ।
विजय प्राप्त गरेपछि माओवादी समर्थकहरुको ठुलो समुहले रातको समयमा पनि अविर जात्रा गर्दा कुनै ठुलै चुनाव जितेको झल्को सदरमुकाम चौतारामा देखिएको छ ।
विगत केही महिनादेखि विद्यालय व्यवस्थापन समितिको गठनको लागि अभिभावक भेला बोलाउँदा झन्डै ४ दर्जनले आकाङ्क्षा राख्दा कुनै सहमति हुन सकेको थिएन । पटक पटकको अभिभावक भेलामा सहमति नहुने र विवाद चर्किन थालेपछि नगर शिक्षाको सल्लाह बमोजिम प्रधानाध्यापक डम्बरबहादुर श्रेष्ठले मतदानको प्रक्रियामा जाने निर्णय गरेका थिए ।
व्यापक सुरक्षाबीच अभिभावकहरुले मतदानको प्रक्रियाबाट विद्यालय व्यवस्थापन समितिको चयन गरेको प्रधानाध्यापक श्रेष्ठको भनाइ छ । विद्यालयमा यसभन्दा पहिला पनि एक पटक बिब्यस गठन प्रयोजनको लागि चुनाव भएको थियो ।
प्रतिक्रिया दिनुहोस्