२०८२ भाद्र १२

समोसा अर्थशास्त्र

भरत पोखरेल  ( मेरो ९पूर्व०गाउँ फूलबडियाबाट सप्तरी जिल्ला–सगरमाथा अञ्चलको सदरमुकाम राजविराज तीन कोस टाढा छ जुन दुरी तयगर्न त्योबेला पैदल तीनघण्टा बढी लाग्थ्यो । यातायातका कुनै साधन थिएन । खेतका आली, गाउँका डगर, काठका पुल राखिएका धुले हुलाकी सडक भएर हामी गाउँबाट सदरमुकाम जान्थ्यौं ।

 

२०२३ सालमा एक अपरान्ह म बुवासँग राजविराजको त्रिभुवन चोकमा हिँड्दै थिएँ जुनबेला म कक्षा तीनको विद्यार्थी थिएँ । बुवाले कान्छा आज तलाई समोसा खुवाउँछु भन्नु भयो । म त फुरुङ्ग । त्रिभुवन चोकको दक्षिणमा एउटा चल्तीको हलुवाई पसल थियो । हामी त्यहीँ पस्यौं ।

बुवाले दुईप्लेट समोसा मगाउनु भयो । एकप्लेटमा दुईवटा समोसा थिए । समोसा खाएपछि बुवाले दुईदुईवटा लालमोहन पनि मगाउनु भयो । त्योबेला एउटा समोसाको मूल्य चारआना ९सुका० थियो र लालमोहनको आठआना ९मोहर० । चारवटा समोसाको एक रुपियाँ र चारवटा लालमोहनको दुई रुपियाँ गरी तीन रुपियाँ बुवाले कमेजको गोजीबाट निकालेर पसलेलाई तिर्नु भयो ।

हामी बाबुछोरा मुख मिठाएर पसलबाट निस्क्यौं । मेरो सम्झनामा समोसासँग साक्षात्कार भएको सायद त्यो मेरो पहिलो अवसर थियो । बुवा ४३ वर्ष अघि हामीलाई छाडेर जानु भयो । पहिलोपल्ट बुवाले खुवाउनु भएको त्रिकोण समोसा र जीवनभरि खाएका समोसाहरूमा म चौथो कोण खोजिरहेको छु ।

२०३० को दसकमा म विराटनगर महेन्द्र मोरङ आदर्श क्याम्पसको विद्यार्थी थिएँ । विराटनगरमा टाटा मिष्ठान र काली मिष्ठान समोसाका लागि चर्चित थिए । अर्थशास्त्र पढाउने सरहरूले कक्षामा टाटा मिष्ठान समोसाको उदाहरण दिएर अर्थशास्त्रको माग र आपूर्तिको नियम अर्थ्याउनु हुन्थ्यो । म विराटनगर रहँदा २०३३ सालमा एउटा समोसाको मूल्य दुई रुपियाँ थियो र मैले विराटनगर छाड्दा २०४० सालमा एउटा समोसाको मूल्य चार रुपियाँ पुगेको थियो । २०५६ सालमा अमेरिकाको न्युयोर्क ज्याक्सन हाइटमा एक अमेरिकी डलरमा दुईवटा समोसा खाएको मलाई सम्झना छ ।

तीसवर्षदेखि काठमाडौँको स्थाई बासिन्दा भएकाले म कहिलेकाहीँ न्युरोडको टिपटपमा समोसा खान्छु । त्यहाँ अहिले एउटा समोसाको ३५ रुपियाँ पर्छ । नेपालका कोसीको काकडभिट्टादेखि सुदुरपश्चिम महेन्द्रनगरसम्मका विभिन्न गाउँ–सहरमा समोसाको मूल्य सुविज्ञ पाठकहरूले कमेन्टमा पस्किदिनुभए एउटा पूर्णचित्र आउने आशा गरेको छु । मूल्य विविधता ठाउँ अनुसार फरक पर्छन् । झापा–मोरङमा १०–१५ रुपियाँमा पाइने एउटा भक्कालाई मैले यही माघे संक्रान्तिमा काठमाडौँको टुँडिखेलमा ५० रुपियाँ तिरेर खाएको छु ।

विश्व बजारमा समोसाको बजारभाउ हेरौं । तल दिएको चित्रमा दुईवटा समोसाको भारतीय रुपियाँमा मूल्य राखिएको छ । त्यसलाई सजिलो बनाउन मैले एउटा समोसाको मूल्य नेपाली रुपियाँमा बनाएको छु । चीनमा एउटा समोसाको मूल्य ३२० रुपियाँ, बेलायतमा ४००, अमेरिकामा ८००, युएईमा १,२८०, मलेसियामा १,६००, क्यानाडामा १,९२०, फ्रान्समा २,९६० र भारतमा ३२–८० रुपियाँ मूल्य रहेको छ । समोसा मूल्यको यो अन्तरलाई ती देशका मानिसहरूको वार्षिक प्रतिव्यक्ति आयमा हेर्दा स्थिति प्रष्ट हुन्छ ।

एउटा चिनियाँको वार्षिक आय १२,९७० अमेरिकी डलर छ, बेलायतीको ५२,४२०, अमेरिकीको ८६,६००, युएईको ४९,१४४, मलेसियालीको १३,१४२, क्यानाडालीको ५३,८३०, फ्रान्सेलीको ४८,०१०, भारतीयको २,७०० र नेपालीको १,३७८ रहेको छ । हामी नेपालीको मुख्य खाना दाल, भात र तरकारी ९दाभात० हो, समोसा मुख्य खाना होइन तर एउटा समोसाले ३०० क्यालोरी दिन्छ अर्थात् समोसाको प्रत्येक गाँसमा २८ क्यालोरी पाइन्छ, दुईवटा समोसाले एउटा नेपालीको दिनको एक तिहाई क्यालोरी पूरा गर्छ ।

समोसा खाजा ९नास्ता वा अर्नी० को रूपमा अपरान्ह प्राय खाइन्छ । समोसाभित्र राखिने मासु, अन्डा, सुखाफल, आलु, केराउ आदि भए पनि दक्षिण एसियामा समोसाभित्र आलु नै राखिन्छ । समोसाको उत्पत्ति दसौँ र एघारौं शताब्दीमा मध्यपूर्वमा भएको मानिन्छ । समोसा इजिप्ट, लिबिया, मध्य एसिया हुँदै भारत आइपुग्यो । मध्यपूर्वमा उत्पत्ति भएकाले यसको अनौठो आकार पिरापिड जस्तो त्रिभुजाकार छ । पर्सियन भाषाको सान्बोसाग शब्द समोसाको प्रारम्भिक नाम हो । यही शब्दबाट कहीँ साम्सा, साम्बुसाक, सान्बुसा, सिंघडा, सामुसा हुँदै दक्षिण एसियामा समोसा प्रचलित छ ।

समोसा साहित्य त्यतिसारो उपलब्ध छैन । यसबारे मैले तीनवटा स्रोतहरू प्रयोग गरेको छु । पहिलो विकिपिडिया यसमा थोरै सामग्री मात्र उपलब्ध छन्, दोस्रो सोनाल वेदको पेनगुइनबाट २०२१ मा प्रकाशित पुस्तक हुज समोसा इज इट एनी वे रु र तेस्रो डाउन पत्रिकामा २१ जनवरी २०१५ मा प्रकाशित सादिया रेजाको लेख अ सर्ट हिस्ट्री अफ द समोसा । सोनालको पुस्तकको शीर्षक समोसा भए पनि समोसाबारे पुस्तकमा एक पृष्ठ पनि सामग्री छैन जुन कुरा लेखकले पुस्तकमा स्वीकारेकी छन् तर यो पुस्तक खाना परिकारबारे अनुसन्धनात्क उत्कृष्ठ पुस्तक हो ।

वेद–उपनिषददेखिको खानाबारे आधिकारिक अवधारणा राखिएका छन् । पुस्तकमा नेपालका खाना परिकारबारे पनि केही चर्चा छ । सादियाको डाउनमा सानो लेख छ । दक्षिण एसियामा समोसा कहिलेकाहिँ राजनीतिक र कहिले वर्गीय पनि भएको छ । एक पटक बिहारको चुनावमा “जब तक रहेगा समोसे में आलू, तब तक रहेगा बिहार में लालू,” नारा नै बनाइयो । समोसामा अहिले पनि आलु त छ तर बिहारमा लालू सत्तामा छैनन् ।

उहिले समोसा राजामहाराजा र उच्च वर्गको खाजा थियो अहिले यो मध्यम निम्नवर्गको खाजा भएको छ । उच्च मध्यम वर्गदेखि माथि त म्याकडोनाल्ड, पिज्जा, बर्गर, केएफसी, टाकोबेलले समोसालाई विस्थापित गरेका छन् यद्यपि समोसाले विश्वको लामो दुरी तय गरेर आफ्नो उपस्थिति चाहिँ विश्वमा जमाएकै छ ।

प्रतिक्रिया दिनुहोस्