नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार चाँडै ढल्ने जिकिर गरे । असंवैधानिक र अलोकतान्त्रिक तरिकाले बनेको यो सरकार आजसम्म टिके पनि अब भने लामो समय नजाने प्रष्टै देखिएको प्रचण्डको भनाइ छ ।
बीच भलिबल प्रतियोगिता उद्घाटन गर्न मंगलबार सिन्धुपाल्चोकको सुकुटे आइपुगेका प्रचण्डले सरकारले अहिले दलाल र भ्रष्टहरुलाई संरक्षण गर्ने काम मात्रै गरेको आरोप लगाउँदै कांग्रेसभित्र पनि असन्तुष्टि पैदा भएको बताए । माओवादीले सरकार ढाल्न कुनै गतिविधि नगरे पनि सरकार आफै ढल्ने प्रचण्डको जिकिर छ ।
सरकार आफैले आफ्नो आयु घटाइरहेको भन्दै प्रचण्डले माओवादीलाई सरकारमा जान कुनै हतार नभएको पनि बताउनुभयो । दुई तिहाइको दम्भ राख्ने सरकारसँग संसद् बोलाएर संसदमै प्रतिपक्षको सामना गर्ने हिम्मत नभएको प्रचण्डको टिप्पणी छ । सरकार सदन बोलाउनुको सट्टा अध्यादेश ल्याएर शासन गर्ने प्रक्रियामा अघि बढेको भन्दै विपक्षी दलहरूको तर्फबाट बैठक तत्काल बोलाउन आफूहरूले निरन्तर दबाब दिइरहेको पनि जानकारी दिए ।
प्रचण्डले सिन्धुपाल्चोकको तातोपानी नाका पुरानै अवस्थामा सञ्चालन गर्न आफूले निरन्तर पहल गरिरहेको बताए । आफू प्रधानमन्त्री हुँदा तातोपानी नाका सञ्चालन गर्न चीन सरकारसँग पटकपटक कुराकानी भएको स्मरण गर्दै उहाँले नाका पुनः सहज रूपमा सञ्चालनमा ल्याउन दुई देशका माथिल्लो तहबाट पहल र प्रयत्न आवश्यक रहेको उल्लेख गरे । अध्यक्ष प्रचण्डले बीच भलिबल प्रतियोगिताले सुकुटेको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्