२०८१ मंसिर २३
                           

‘कालोपाटी’ प्रतिको दृष्यबोध

७ मंसिर  –  सर्वप्रथम ‘कालोपाटी’ चलचित्र हेर्ने अवसरका लागि मित्र कृष्णप्रसाद धिताल (धिताल चिरिच्याट्ट) प्रति हार्दिक आभार व्यक्त गर्दछु । करिब एक घण्टा चार मिनेटको समयलाई गहिरोसँग चलचित्र ‘कालोपाटी’को लागि छुट्याएँ । चलचित्र ‘कालोपाटी’ एक घण्टाको भए पनि हेर्नु अघि कथावस्तुप्रति मेरो परिकल्पनासँग हेरेपछि पनि निकै समय आफैंभित्र लेखाजोखा गरेँ । आफु शिक्षक भएको कारण ‘कालोपाटी’लाई चलचित्र हेरेको रुपमा नभइ वास्तविक गतिबिधि नियाली रहे जस्तै अनुभुति भयो । पटक पटक आफुलाई त्यसभित्र हराएको महसुस गरेँ र बेलाबेला आफु त्यहीँ भएको पनि महसुस गरेँ ।

सायद आफ्नो पेशासँग सम्बन्धित विषयवस्तुमा आधारित चलचित्र भएकोले होला आफु चलचित्र ‘कालोपाटी’ भित्र पटक पटक हराएको महसुस भयो ।‘कालोपाटी’ ले दिने सन्देश जो दर्शकले हेर्नुभो उहाँहरुले त पाइसक्नुभयो । अभिभावकहरुले अभिभावककै भूमिकाबाट, विद्यार्थीले विद्यार्थीको भूमिकाबाट समिक्षा गर्नुभयो होला र शिक्षकले शिक्षकको भूमिकाबाट पनि पक्कै समिक्षा गर्नुभयो । मात्र कसैका समिक्षा लेखिए होलान् कसैका अनुभुतिका रुपमा संग्रहित होलान् ।

विद्यालयभित्र केही घण्टा पनि नबिताएकाहरुले विभिन्न अभियानका नाममा भुइँमाथीबाट प्रस्तुत गर्ने गरेका ‘गफ’हरुको भिडमा एउटा पृथक तरिकाले कक्षाकोठा सिकाइ वातावरण र बाल मनोविज्ञानमा केन्द्रित रहेर भुईँको कथावस्तु छनोट गरी हाम्रा शैक्षिक परीपाटीलाई सजीव रुपमा उतार्ने प्रयास गर्नुभएकोमा ‘कालोपाटी’ टिमलाई विशेष आभार सहित ‘कालोपाटी’ हेरेपछि चलचित्र ‘कालोपाटी’को बारेमा छोटो समिक्षात्मक टिप्पणीको उत्सुकता जाग्यो र यहाँ मैले केही अनुच्छेदमार्फत दृष्यबोध प्रस्तुत गर्न मात्र चाहेको हो ।

क) कथावस्तु ः कालोपाटीमा प्रस्तुत गरिउको कथावस्तुमा नेपालको ग्रामीण परिवेशमा विद्यालय शिक्षाको यथार्थ चित्रण गरिएको छ । कक्षाकोठामा बिबिध क्षतमा, रुची भएका विद्यार्थी, शिक्षकहरुको विभिन्न किसिमको शिक्षण शैली, विद्यार्थीको मनोविज्ञान र उनीहरुमाथी अभिभावक र शिक्षकको जबरजस्त अरुचीपूर्ण व्यवहारलाई झल्काइएको छ । अनि उनीहरुमा रहेको अनेकन सम्भावनालाई स्वयं शिक्षक र अभिभावकबाट कसरी दबाइएको छ भन्ने कुरा दर्शाइएको छ । अर्को महत्वपुर्ण कुरा त्यतिसम्म दबाबका बीच पनि आफ्नो क्षमता प्रस्फुटन गर्न बालबालिका स्वयंले गरेको संघर्ष र जोखिमले कथावस्तुलाई चरम उचाइमा पुर्याएको छ ।

ख) शिक्षकको शिक्षण कला र विद्यार्थीको मनोविज्ञान ः शिक्षकहरुको शिक्षण कलाले कक्षाकोठाको वातावरण कति फरक बन्छ, यसबाट विद्यार्थीहरुको सिर्जनात्मक क्षमतामा कति प्रभाव पर्छ भन्ने कुरा महत्वपूर्ण छ । कालोपाटीमा राम सर र रामनारायण सरको शिक्षणकलाको तुलनात्मक विश्लेषणले शिक्षण पेशालाई कसरी समयानुकुल बनाउने भन्ने कुरामा चुनौतीपूर्ण सन्दर्भलाई उजागर गरेको ।

ग) बालबालिकाको लागि घरको सिकाइ वातावरण र उत्प्रेरणा ः बालबालिकाको सिकाइ प्रभावकारी हुन विद्यालयको मात्र भूमिका हुन्न, असल अभिभावकत्व पनि महत्वपूर्ण हुन्छ । लैङ्गकता र अन्य आधारमा अभिभावले गर्ने विभेदले बालबालिकामा पारिरहेको असर पनि समाजमा उत्तिकै संवेदनशील छ । खुशी र अजय जस्ता विषयवस्तु कण्ठ बनाउने क्षमता नभएपनि अन्य सिर्जनात्मक क्षमता उच्च भएका बालबालिकालाई कस्तो वातारण दिएर उनीहरुको सम्भावनाको बाटो निर्धारण गर्ने भन्ने कुरामा अभिभावकले पनि ध्यान दिन नसकेको सन्दर्भले खुशी र अजयका जस्तै खालका आम अभिभावकहरुले पनि आफुलाई रुपान्तरण गर्न जरुरी छ भन्ने सन्देश प्रस्तुत गरेको छ ।

घ) विद्यार्थीहरुको बिबिधताको पहिचान ः हरेक मानिस विशेष हुन्छन् । संसारका प्रत्येक मानिस एक अर्कोसँग कुनै न कुनै हिसाबले अलग प्रकृतिका हुन्छन् । तर कक्षाकोठामा भएका सबै विद्यार्थी उस्तै हुुनुपर्छ, अर्को जस्तै हुनुपर्छ भन्ने मानसिकताले हाम्रा कक्षाकोठालाई निरन्तर आतङ्कित बनाइरहेको छ । त्यस खालको आतङ्कबाट कक्षाकोठालाई कसरी अबग बनाउने कालोपाटीले सोचनीय बनाएको विषय हो ।

ङ) परीक्षाको त्रास ः विद्यार्थीलाई सिकाइ केबल परीक्षा पास गर्नका लागि भन्ने भाष्य जवरर्जस्त थोपरिएको छ । परीक्षा पास गरेर जीवन चैं फेल हुँदा त्यसले कस्तो उसको व्यक्तिगत भविष्य र समाज रुपान्तरमा कस्तो असर पर्ला भन्ने तर्फ ध्यान केन्द्रित गर्न सोचनीय बनाएको छ । व्यवहारिक सीप, विद्यार्थीमा भएको चाहना र विशेष क्षमतालाई दबाउँदा बालबालिकामा पर्ने मनोवैज्ञानिक असरलाई गभ्भिर रुपमा उजागर भएको छ । जुन हरेक शिक्षक र अभिभावकले ख्याल गर्नुपर्ने विषय हो ।

ङ) सन्देशः हरेक बालबालिकासँग बिबिध सम्भावना सहित फरक फरक क्षमता हुन्छन् । हाम्रा हरेक कक्षाकोठामा कयौं सम्भावनाहरु जानेर वा नजानेर दबाइएका छन् । ति सम्भावनाहरुलाई फक्रन दिनु आम दर्शकलाई ‘कालोपाटी’को चुनौतीपूर्ण सन्देश हो । बालबालिकाको भावना बुझेर उनिहरुलाई उचित बातावरण दिउँ, रामनारायण सरहरुको सट्टमा रामसर जस्ता शिक्षकहरुको संख्या बढाउनेतिर लागौं । खुशी र अजयका अभिभावकहरुको अभिभावकत्व शैली फेरौं । अनि विजय, अजय र खुशी जस्ता सबैका लागि अनुकल बालमनोविज्ञानमा आधारित सिकाइ वातावरण सिर्जना गरौं ।
निश्कर्षमा भन्नुपर्दा ‘कालोपाटी’को मुख्य सन्देश शिक्षक र अभिभावक सहित शिक्षाका अन्य सरोकारवालाहरु सबैलाई बालमनोविज्ञानमा आधारित समावेशी शिक्षाको वातावरण कायम गर्न प्ररित गरोस् भन्ने हो । शैक्षिक चलचित्र ‘कालोपाटी’ सबै बालबालिकाका निम्ति उज्यालो शैक्षिक भविष्यको एउटा अर्को अभियान फरक हो ।
धन्यवाद ।

कृष्णप्रसाद ढुङ्गाना
पूर्व प्र.अ. एवं शिक्षक, श्री तेर्से माध्यमिक विद्यालय
मेलम्ची–६, तालामाराङ, सिन्धुपाल्चोक

प्रतिक्रिया दिनुहोस्