भरत पोख्रेल । अमेरिकामा भएको ४७ औं राष्ट्रपतिको चुनावको परिणाम प्राप्त भइरहे पनि ५३८ एलेक्टोरल भोटमा रिपब्लिकन पार्टीका उमेदवार डोनाल्ड ट्रम्पले यो आलेख तयार गर्दासम्म जितका लागि आवश्यक २७० एलेक्टोरल भोट पार गरेर २९५ एलेक्टोरल भोट पाएर विजयी भएका छन् भने ह्यारिसले २२६ एलेक्टोरल भोट पाएकी छन् । ट्रम्पले यो चुनावमा पहिला जितेहारेका दुबै २०१६ र २०२० को तुलनामा बढी भोट पाएका छन् ।
सन २०१६ मा ट्रम्पले ४६ प्रतिशत भोट पाएर हिलारी क्लिन्टनलाई हराएर विजयी भएका थिए, २०२० मा ४७ प्रतिशत भोट पाए तर जो बाइडेनसँग पराजित भए । यसपाला २०२४ मा ट्रम्पले ५१ प्रतिशत बढी भोट पाएका छन् भने उनकी प्रतिस्पर्धी कमला ह्यारिसले ४८ प्रतिशत भोट पाएकी छन् ।
चुनावको ५०० भन्दा बढी सर्भे चर्चामा डोनाल्ड ट्रम्प र कमला ह्यारिसको कडा प्रतिस्पर्धा बताइएको थियो तर ट्रम्पले ठूलो मार्जिनले चुनाव जितेका छन् । अमेरिकाका केही अपवाद बाहेक मूलधारका सबै ठूला मिडिया कमला ह्यारिसको पक्षमा थिए, सेलिब्रटीहरू, अर्थशास्त्रमा नोवेल पुरस्कार पाएका २३ अर्थशास्त्रीहरू ह्यारिसको प्रचारमा थिए ।
कमला ह्यारिसको चुनाव प्रचारको क्रममा एक बिलियन अमेरिकी डलर चुनाव खर्च जुटेको थियो । ट्रम्पलाई विश्वका सबैभन्दा धनी एलन मस्कले ४४ मिलियन अमेरिकी डलर सहयोग गरे पनि डेमोक्रेटिक पार्टीको जति चन्दा रिपब्लिकन पार्टीले जुटाउन सकेको थिएन । किन हारिन ह्यारिस ?
कमला ह्यारिस हार्नुका केही मुख्य कारणहरूमा ट्रम्प चारवर्षदेखि चुनाव प्रचारमा लगातार लागेका थिए । कमलाले छ महिना जतिको मात्र समय पाएकी थिइन । जुन २७ जो बाइडेन र डोनाल्ड ट्रम्पको प्रत्यक्ष बहसमा बाइडेन कमजोर देखिएपछि मात्र कमलाले राष्ट्रपतिको उमेदवारी पाएकी थिइन । बाइडेन-ह्यारिस सरकारको २०२०-२४ चारवर्षमा अमेरिकामा २१.५ प्रतिशत उपभोक्ता मूल्यवृद्धि भएको छ भने मानिसहरूको खुद आम्दानी ११ प्रतिशतमात्र बढेको छ । यही समयमा आय असमानता विश्वमै सबैभन्दा खराब अमेरिकामा देखियो ।
एक प्रतिशत अमेरिकीले ३५ प्रतिशत सम्पत्ति कुमल्याएका छन्, १० प्रतिशत अमेरिकीले ७१ प्रतिशत सम्पत्तिमा कब्जा जमाएका छन्, ५० प्रतिशत भूइँमानिसहरूसँग १ प्रतिशतमात्र सम्पत्ति रहेको छ । ६ लाख ५० हजार अमेरिकी घरवार विहीन छन् । कमला ह्यारिसले बाइडेनले छाडेको हावाखुस्किएको (पंगचर्ड) प्यारासुटबाट ल्यान्ड गरेर चुनावी प्रतिस्पर्धामा उत्रिनु परेको थियो जुन उनका लागि अफाब सिद्ध भयो । जुलाई १३, २०२४ मा पेन्सलभानियामा ट्रम्पमाथि चलेको गोलीकान्डले सहानुभूति भोटहरू ट्रम्पले धेरै पाउन सफल भए । संयोग भनौं ट्रम्प राष्ट्रपति रहँदा २०१६-२० विश्वमा युद्ध थिएन तर बाइडेन-ह्यारिसको पालामा युक्रेन, गाजा युद्ध चलिरहेको छ ।
यसपाला अमेरिकी चुनावका मुख्य मुद्द अर्थतन्त्र, वेरोजगारी, आप्रवासन, गर्भपतन, लोकतन्त्र, विश्वमा देखिएका (युक्रेन, गाजा) द्वन्द्व आदि रहेका थिए । सेप्टेम्बर १० मा भएको ट्रम्प-ह्यारिस प्रत्यक्ष बहसमा ह्यारिसले ट्रम्पलाई एउटा मुद्दा गर्भपतनबारे चक्रब्युहमा पारेकी थिइन तर अन्य मुद्दा त्यति चलेन । गाजामा इजरायली आक्रमणको ट्रम्पले समर्थन गरेको, अमेरिकी विश्वविद्यालयहरूमा गाजा आक्रमण विरुद्ध विद्यार्थीको विरोधलाई ट्रम्पले अस्वीकारेको, जनवरी २०१७ मा ट्रम्पले अमेरिकामा मुस्लिम ब्यान अधिकार प्रयोग गरेको, २०१८ मा जेरुसलेमलाई इजरायलको राजधानी बनाउन ट्रम्पले समर्थन जनाएको मुद्दा ह्यारिसले जोडदार रूपमा उठाउन सकिनन् ।
सातवटा स्वीङ स्टेट मिचिगन, पेन्सिलभानियाँ, वीस्किन्सन, एरिजोना, जर्जिया, नर्थ क्यारोलिना र नेवादा जो अमेरिकी चुनाव जिताउने निणर्ायक राज्यहरूमा ह्यारिसको पकड कमजोर देखियो । हाम्रै पालामा अमेरिकामा महिला राष्ट्रपति बनाउने दुईवटा अभ्यास २०१६ हिलारी क्लिन्टन र २०२४ कमला ह्यारिस अभियान असफल भए । ट्रम्प व्यापारी हुन उनले लेनदेनको गृहनीति र परराष्ट्रनीति बनाउँछन् । ट्रम्प आफ्नो स्वार्थका लागि उदन्डतामा ओर्लिने हर्कत पहिले पनि देखिएको हो । हारेको चुनाव हट गरेर नस्वीकार्ने उनको स्वभावले समस्या आएको थियो । हिजोमात्र ट्रम्प समर्थकहरूले ह्वाइट हाउसको वरिपरि मोटरसाइकल र्याली गरेर ट्रम्पको जित ह्वाइटको जित भन्दै नारा लाए ।
ट्रम्पका लागि आसन्न समस्या चीन-अमेरिका सम्बन्ध, रुस-युक्रेन, इजरायल-प्यालेस्टाइन युद्ध, भारत-क्यानाडा शीतयुद्ध आदि रहेने छन् । अमेरिकी जनतालाई असुरक्षा, नस्लवादको नारामा नारेका ट्रम्पको आप्रवासीलाई जनावर भन्ने सम्बोधन र तीनलाई घरवापसी गर्ने कार्य त्यति सहज हुने छैन । राष्ट्रपति जिते रुस-युक्रेन युद्ध रोकाउने, गाजा समस्या समाधान गर्ने उनको बाचाको अब परीक्षण हुनेछ ।
बाराक ओबामाकी श्रीमती मिचेल ओबामाको बीकमिङ पुस्तकको सिकोमा मेलानिया ट्रम्पले एकमहिना अगाडि मेलानिया पुस्तक सार्वजनिक गरेकी छिन् । श्रीमती ओबामा ह्वाइट हाउसको करेसाबारीमा केन्द्रित देखिन्छिन् भने मोडेल मेलानिया राष्ट्रपति भवनको रङरोगन सजावटमा । कस्तो होला ट्रम्पको दोस्रो कार्यकाल ? ट्रम्पको पहिलो कार्यकाल देखेको विश्वलाई मैथिलीको एउटा उखान मिल्दो हुनेछ । देख्ले अँगना देख्ले घर, देख्ले कनियाँ देख्ले बर (देखेकै आँगन देखेकै घर, देखेकै दुल्ही देखेकै बर) ।
प्रतिक्रिया दिनुहोस्