२०८१ आश्विन २६
                           

ज्येष्ठ नागरिक समाजको अमूल्य सम्पदा हुन्- पूर्वमन्त्री दुलाल

रामकृष्ण थापा/ चाैतारा – विकासप्रेमी नेता युवराज दुलालले ज्येष्ठ नागरिकलाई समाजले सम्मान गर्नुपर्ने बताएका छन् । “जुन समाज सभ्य छ त्यसले वृद्धवृद्धालाई सम्मान र हेरचाह गर्छ “उनले भने । पूर्वमन्त्रीसमेत रहेका वागमती प्रदेशसभा सदस्य दुलालले ज्येष्ठ नागरिक समाजका लागि अमूल्य सम्पदा भएको प्रष्ट्याए ।

उनले अगाडि भने ” सभ्य र नैतिक समाजलेमात्र ज्येष्ठ नागरिकलाई सम्मान र हेरचाह गर्छ । किनकि, उहाँहरु हाम्रो अमूल्य निधि हुन् ।” ३४ ओ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसकाे अवसरमा चाैतारा वृद्धाश्रमले आयोजना गरेकाे १६ ओ वार्षिक साधारणसभा तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रमलाई सम्बाेधन गर्दै दुलालले ज्येष्ठ नागरिकको दायित्वबाेध गरेर राज्यले सामाजिक सुरक्षाकाे व्यवस्था गरेकाे बताए ।

बृद्धबृद्धाकाे उचित स्याहारसुसारकाे लागि पहिलाे दायित्व परिवारकाे भएको उनले औल्याए । वृद्धाश्रममा बा आमालाई राख्दा परिवारबाट कट्ने हुन्छ । वृद्धाश्रम राज्यका नीति हुनुहुँदैन । तर, अलपत्र अवस्थामा रहेका र पारिवारिक अपहेलनामा परेका बृद्ध बा आमालाई १६ वर्षदेखि सम्मान र स्याहार गरेकाे चाैतारा वृद्धाश्रम सेवा समितिलाई मन्त्री दुलालले धन्यवाद दिए ।” यहाँ रहेर सामाजिक सेवामा लाग्नुहुने सबैलाई धन्यवाद दिन्छु र संस्थाकाे आजीवन सदस्य बन्ने घोषणा गर्छु ,”उनले भने, “पारिवारिक , सामाजिक र विश्वविद्यालयमा ज्येष्ठ नागरिकबारे शिक्षा दिइनुपर्छ । पहिला सम्मान र हेरचाह परिवारबाट गर्नुपर्छ । विश्वलाई एउटा परिवारकाे रुपमा लिने समय हाे याे जहाँ रहेर पनि ज्येष्ठ नागरिकलाई हेरचाह गर्न सकिन्छ ।

जिल्ला समन्वय उपप्रमुख पदम नाथ नेपालले ज्येष्ठ नागरिक समाजका विद्यालय भएको बताए । प्रमुख जिल्ला अधिकारी किरण थापाले आमाबुबा भन्दा ठूलाे काेही नहुने भएकोले उहाँहरुकाे सम्मान र हेरचाहकाे पहिलो दायित्व परिवारकाे रहेकाे भनाइ राखे ।

ज्येष्ठ नागरिकले पाउने सामाजिक सुरक्षा भत्ता सहज प्राप्तिको लागि स्थानीय सरकारले उचित व्यवस्था गर्नुपर्ने नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाका अध्यक्ष जीवन श्रेष्ठका धारणा थियाे ।

चाैतारा साँगाचोकगढी नगरपालिका वडा नं ५ का अध्यक्ष शिव श्रेष्ठले परिचय विहीन ज्येष्ठ नागरिकलाई नागरिकता बनाउन सरकारी निकायले भूमिका खेल्नुपर्ने बताए । मासिक रुपमा ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिने व्यवस्था मिलाइएको उनकाे भनाइ थियाे । चाैतारा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रुद्र भण्डारीले वृद्धावस्थामा बढी नै हेरचाह र स्वास्थ्याेपचारकाे खाँचो रहने धारण राखे ।

चाैतारा वृद्धाश्रम सेवा समितिकाे १६ ओ वार्षिक साधारणसभाकाे सन्दर्भ पारेर ज्येष्ठ नागरिक अम्बरबहादुर घलेलाई सम्मान गरिएको थियाे । त्यसैगरी वृद्धाश्रम सेवा समितिलाई साथ दिइरहेका व्यक्तित्वलाई सम्मानपत्र प्रदान गरिएको थियाे ।ज्येष्ठ नागरिक समाजका अध्यक्ष माधव कर्माचार्यले बृद्ध अबस्थामा गरिरहेकाे अनुभव सुनाएका थिए ।

नगर महिला सञ्जाल चाैताराले वृद्धवृद्धालाई आजको खाना खाजाकाे व्यवस्थापन गरेकाे छ । कार्यक्रम वृद्धाश्रम सेवा समितिकी सचिव हाेमकुमारी पुरी र अध्यक्ष मायादेवी पाैडेल (माया निराशी) काे अध्यक्षतामा भएको थियाे ।

काेषाध्यक्ष रीना श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा सिन्धुपाल्चोक प्रहरी प्रमुख एसपी सन्तोष खड्का  , पूर्वसांसद कृष्णराज श्रेष्ठ , पूर्वमेयर अमान तामाङ, रेडक्रस सिन्धुपाल्चोकका महामन्त्री कमल चरण कक्षपति, गोरखापत्र संस्थानका पूर्वबाेर्ड सदस्य सुरेश कसजु लगायतकाे उपस्थिति थियाे ।

प्रतिक्रिया दिनुहोस्